४ आश्विन २०८१, शुक्रबार

आज २५ सय ६४ औं बुद्धजयन्ती,घरघरमा दीप प्रज्वलन गर्न सरकारको आग्रह

प्रकाशित मिति :  7 May, 2020 8:16 am


काठमाण्डौं, २५ वैशाख ।

आज २५ सय ६४ औं बुद्धजयन्ती । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज सिद्धार्थ गौतमद्धारा विश्व शान्ति स्थापनाका लागि पु¥याईएको योगदानको स्मरणस्वरुप मनाइँदैछ ।

दुःख, अनात्मा, अनित्य जस्ता दर्शनका पर्वतक गौतमबुद्धको दुई हजार ५६४ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले गौतम बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन् ।

यस वर्ष कोभिड–१९ को सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा सीमित लामा एवं बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गर्न सरकारले आग्रह गरेको छ । सर्वसाधारणलाई बेलुकी घरमै दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान समेत गरेको छ ।

लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विगत वर्षमा विविध कार्यक्रम आयोजना गरी बुद्धजयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजापाठ गरी पर्व मनाउने निर्णय भएको छ ।

बौद्ध क्षेत्रका सङ्घसंस्थाको बैठकले बौद्ध चैत्यमा यस्तै निर्णय गरेको काठमाडौँ महानगरपालिका–६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा दुई हजार ५६४ वर्षअघि लुम्बिनी उद्यान(हालको रुपन्देही जिल्ला)मा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । उनन्नतीस वर्षका उमेरमा दरबार छाडी तपस्याका लागि उनी निस्किएका थिए ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख (बोधिवृक्ष) मुनि बुद्धत्व प्राप्त गरे । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतमबुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो ।

दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि दुःख निवारणका आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

पैँतालीस वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षका उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा बुद्धले महापरिनिर्वाण प्राप्त गरे ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । विसंं २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो ।

विसं २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो । तत्कालीन पश्चिमी कमान्डर जनरल खड्गशम्शेर राणाले शिकार खेल्न जाँदा सन् १८९६ मा लुम्बिनीमा आशोक स्तम्भ देखी पुरातत्व विशेषज्ञ डा. फुररको सहयोगमा स्तम्भ संरक्षण गरिएको थियो ।

सन् १९५६ मा चौथो विश्व बौद्ध भ्रातृत्व सम्मेलन नेपालमा आयोजना गरिएको थियो । सन् १९६७ मा संयुक्त राष्ट्र सङ्घका तत्कालीन महासचिव ऊ थान्तको नेपाल आगमनबाट लुम्बिनी विकासको बृहत्तर योजना आरम्भ भएको हो ।

बुद्धजयन्तीको अवसरमा प्रधानमन्त्री, विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना दिएका छन् भने आज सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा देशभरी सार्वजनिक विदा



प्रतिक्रिया दिनुहोस !