२९ आश्विन २०८१, मंगलबार

नयाँ गठबन्धन शुद्ध छैन, केही विवादित मान्छे पनि छन्ः उपाध्यक्ष भुसाल

प्रकाशित मिति :  8 March, 2024 6:35 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छेपनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन् ।

शुक्रवार अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्तारुढ गठबन्धन शुद्ध नभएको बताएकी हुन् ।

उनले गठबन्धनमा विवादित मान्छे पनि भएको भन्दै बहुमत पु¥याउनका लागि विवादित मान्छेसँग गठबन्धन गर्नुपरेको बताइन् । उनले विवादित मान्छेमा कुनै कमजोरी देखिएमा छुट नदिने प्रतिवद्धता गरेर नयाँ गठबन्धन सरकार बनाइएको बताइन् । उनले सत्तारुढ गठबन्धनलाई विभिन्न विदेशीको कार्ड भनि राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा तरंगित गरिएको भन्दै सो गठबन्धन यहीँका दल र नेताहरुले बनाएका बताइन् ।

उनले शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक क्षेत्रमा परिवर्तनको अनुभुति दिलाउने संकल्पसहित गठबन्धन बनाइएको उल्लेख गर्दै त्यो पूरा नभएमा यहीँ गठबन्धनमा बसिरहने कुरा नहुने बताइन् ।

उपाध्यक्ष भुसालले वर्तमान गठबन्धन विगतको भन्दा सजातिय भएको बताउँदै गठबन्धनमा वामपन्थीहरुको बाहुल्यता रहेकाले काम गर्न सजिलो हुने बताइन् । उनले दीर्घकालसम्म देशमा दुईवटा कम्युनिस्ट पार्टीहरु समानान्तर ढंगले जान नसक्ने भन्दै सहकार्यलाई पार्टी एकताको चरणसम्म पु¥याउनुपर्ने बताइन् ।

उपाध्यक्ष भुसालले महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिका लागि संघर्ष जारी राख्नुपर्ने बताइन् । उनले राज्यको हरेक निकायमा ३३ प्रतिशत अधिकार प्राप्त गर्नका लागि पनि आफूलाई क्षमतावान बनाउँदै लानुपर्नेमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस !