२९ आश्विन २०८१, मंगलबार

बजेटको सिद्धान्त र प्राथमिकताबारे सत्तारुढ दलहरुसँग छलफल हुने

प्रकाशित मिति :  10 March, 2024 8:14 am


काठमाडौँ। सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) ले संसदमा प्रश्तुत आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त तथा प्राथमिकताका विषयमा नयाँ सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गर्ने भएको छ ।

शनिवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले सरकारमा सहभागी अन्य दलहरुसँग छलफल गरेर मात्रै सो आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकताबारे संसदमा छलफल अघि बढाउने निर्णय गरेको हो ।

काँग्रेस नेतृत्वको यस अघिको गठबन्धन सरकारको तर्फबाट गत फागुन १४ गते बसेको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकतबारे पेस गरिएको थियो ।

सो बजेटबारे संसदमा छलफल गर्नुअघि नयाँ सत्तारुढ दलहरुसँग छलफल गरेर अघि बढ्ने निर्णय गरिएको पार्टीका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

बैठकले सरकारले विश्वासको मत लिने दिन अनिवार्य रुपमा प्रतिनिधिसभा बैठकमा उपस्थित हुनका लागि ह्वीप जारी गरेको छ । राष्ट्रियसभाको अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पनि सांसदहरुलाई अनिवार्य उपस्थिति भई आफ्नो पक्षमा मतदान गर्न पनि निर्देशन दिने निर्णय गरेको पार्टीका प्रमुख सचेतक पाण्डेले जानकारी गराए।

राष्ट्रियसभाको अध्यक्षको निर्वाचन यही फागुन २९ गर्ने र प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत फागुन ३० गते लिने तयारी छ । त्यसैगरी बैठकले कार्यतालिका अनुसार नै संघीय संसदको बैठक अघि बढाउने विषयमा पनि आफ्नो पार्टीले जोड दिने निर्णय गरेको छ ।

प्रमुख सचेतक पाण्डेले भने, “कार्यतालिकाअनुसारनै संसद बैठकलाई अघि बढाउनका लागि संघीय संसद सचिवालयसँग छलफल गर्ने र बजेटको सिद्धान्त र प्राथमिकताबारे सहकार्य गरेर अन्य दलहरुसँग पनि कुराकानी गरेर कसरी अघि बढने भन्ने एउटा निचोड निकाल्ने निर्णय भएको छ । विश्वासको मत जहिले भएपनि त्यसका लागि तयार भएर बस्ने कुरा बैठकमा भयो ।”

माओवादी केन्द्रले पार्टीका तर्फबाट राष्ट्रिय सभाबाट विदाई भएका सांसदहरुले खेलेका भुमिकाप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत व्यक्त गरेको छ ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !