२९ आश्विन २०८१, मंगलबार

धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्छः प्रथम राष्ट्रपति यादव

प्रकाशित मिति :  10 March, 2024 1:20 pm


काठमाडौँ । प्रथम राष्ट्रपति डा.रामवरण यादवले धर्मलाई राजनीतिबाट टाढा राख्नुपर्ने बताएका छन् ।

मिथिला मध्यमा परिक्रमाको उद्घाटन गर्दै प्रथम राष्ट्रपति यादवले धर्मलाई राजनीतिसँगै जोडेर हेर्ने परिपाटीका कारण समाज विखण्डनतर्फ बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

उनले धार्मिक कार्यक्रमहरुमा समेत राजनीति गर्नेहरुलाई सामिल गराउँदा धर्ममा पनि राजनीतिको प्रभाव बढ्दै गइरहेको बताए । उनले धर्ममा राजनीति हुँदा समाजमा विकृति बढेको बताउँदै धामिक कार्यक्रममा समाज उत्थानका कुरा हुनुपर्ने बताएका छन् ।

उनले भने, ‘धर्ममा पनि राजनीति हुँदा समाजमा विकृति बढ्दै गईरहेको छ, यसलाई हामीले रोक्नु पर्छ ।धार्मिक कार्यक्रमहरुमा समाज उत्थानको कुरा हुनुपर्छ, समाजलाई कसरी जोड्ने त्यसतर्फ छलफल हुनुपर्छ न कि यस्ता कार्यक्रमहरुमा समेत नेता कार्यकर्ताहरुलाई बोलाएर तामझाम गर्नुपर्छ ।’

कार्यक्रममा सहभागी मधेसको उद्योग, पर्यटन तथा वातावरण मन्त्री सुनिता यादवले प्रदेश सरकार मधेसलाई धार्मिक पर्यटनको हवको रुपमा विकास गर्न तत्पर रहेको बताइन् । यसका लागि प्रदेश सरकारले मास्टर प्लान बनाएर मिथिला मध्यमा परिक्रमाका पडाव स्थलहरुलाई व्यवस्थित तुल्याउनका लागि बजेट समेत छुट्याएको मन्त्री यादवले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !