१४ माघ २०८१, सोमबार

आज ग्याल्पो ल्होसार मनाइँदै, राष्ट्रपतिदेखि पार्टी प्रमुखसम्मले दिए शुभकामना

प्रकाशित मिति :  11 March, 2024 7:53 am


काठमाडौँ। आज ग्याल्पो ल्होसार पर्व मनाइँदैछ। सरकारले साेमवार सार्वजनिक बिदा दिएको छ।

पूर्वी हिमाली क्षेत्र लगायत देशका विभिन्न भू–भागमा बसोबास गर्ने शेर्पा समुदाय लगायतले नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसारको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा राजनीतिक दलका प्रमुखहरुले शुभकामना व्यक्त गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पा समुदायको पर्व ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको चर्चा गरेका छन्।

ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबिच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास राष्ट्रपति पौडेलले व्यक्त गरेका छन् ।

उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ ले नेपालीबिच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्ती पुष्पकमल दाहाल प्रचण्डले ग्याल्पो ल्होसार प्राचीन उत्पादन पद्धतिमा आधारित मौलिक एवं ऐतिहासिक पर्व रहको चर्चा गरेका छन् । शेर्पा समुदायको मौलिक परम्परा अनुसारको सांस्कृतिक कार्यक्रमसहित हर्षोल्लासका साथ मनाउने यस पर्वमा मान्यजनहरूबाट आशिर्वाद ग्रहण गर्नुका साथै परिवार र आफन्तजनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने प्रचलन रहिआएको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ग्याल्पो ल्होसारका अवसरमा शुभकामना व्यक्त गर्दै सन्देशमा नेपालका आदिवासी शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार एक महत्त्वपूर्ण पर्व भएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस !