२९ आश्विन २०८१, मंगलबार

एकीकृत समाजवादीले भन्यो: हाम्रा मागमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ

प्रकाशित मिति :  11 March, 2024 3:58 pm


काठमाडौँ । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टीले अघि सारेका मागहरुमा लिखित सहमति जनाएमात्रै प्रधानमन्त्रीलाई विश्वासको मत दिने बताएको छ ।

सोमबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले सो निर्णय गरेको पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले बताए ।

उनले राष्ट्रियसभा अध्यक्षमा पनि प्रधानमन्त्रीलाई आफ्नो पार्टीले भनेका कुराहरुमामा लिखित सहमति जनाएमात्रै आफ्नो पार्टीले राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने बताए । उनले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई भनेका केही मागहरुको सुनुवाइ नभए भोट हालिरहनुपर्ने जरुरी नरहेको बताए ।

उनले भने, “भोलि हुने राष्ट्रियसभा अध्यक्षको निर्वाचन र पर्सि प्रधानमन्त्रीज्युले लिने विश्वासको मत लिने बारेमा निर्णय गरेका छैनौँ । हामीले भनेको केही कुरामा उहाँले सहमति जनाउनुभयो भने त्यो पनि लिखित सहमति गर्नुभयो भने राष्ट्रिय सभामा भोट दिनसक्छौँ । र प्रतिनिधि सभामा उहाँले लिने विश्वासको मतमा पोजिटिभ हुनसक्छौँ । तर उहाँले हाम्रा कुरा सुनुवाइ नगर्ने र हामीले भोट हाल्दिरहनुपर्ने जरुरी ठानेका छैनौँ, ठान्दैनौँ । उहाँमै भर पर्छ । सरकार ढल्ने वा रहने कुरा प्रचण्डमै भर पर्छ । सहमति हुनुभयो भने मत पाउनुहुन्छ, हुनुभएन भने मत पाउनु हुन्न ।”

प्रमुख सचेतक चौधरीले सरकारले अघि बढ्ने की ढल्ने भन्नेकुरा प्रधानमन्त्री प्रचण्डमै निर्भर रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !