२९ आश्विन २०८१, मंगलबार

राष्ट्रिय सभा अध्यक्षमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न शिर्ष नेताहरूको अपिल

प्रकाशित मिति :  12 March, 2024 11:51 am


काठमाडौँ । सत्तारुढ दलका शिर्ष नेताहरुले राष्ट्रिय सभा अध्यक्षका लागि गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाललाई मतदान गर्न सांसदहरूलाई अपिल गरेका छन्।

आज नयाँ बानेश्वर स्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको गठबन्धनका सांसदहरूकाे बैठकमा बोल्दै पार्टीका शीर्ष नेताहरूले साझा उम्मेदवार दाहाललाई मतदान गर्न अपिल गरेका हुन्।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा नेकपा९माओवादी केन्द्र०का संसदीय दलका नेता पुष्पकमल दाहाल, नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष तथा संसदीय दलका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय सभा सदस्य मृगेन्द्रकुमार यादवले गठबन्धनको साझा उम्मेदवारलाई मतदान गरी विजयी गराउन आग्रह गरेको नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री दाहालले सामाजिक, आर्थिक रुपान्तरण र समृद्धिको कार्यभारलाई पूरा गर्न अघिल्लो सरकारले गति लिन नसकेका कारण सरकार पुनःगठन गर्नुपरेको बताएको श्रेष्ठले जानकारी दिए।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नारायणप्रसाद दाहाल र नेपाली काँग्रेस र लोकतान्त्रिक समाजवादी पार्टीका साझा उम्मेदवार युवराज शर्माका बिचमा प्रतिस्पर्धा हुँदैछ।



प्रतिक्रिया दिनुहोस !