ट्राफिक प्रहरीको लापसे चेकिङ: ७ जना चालक नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ग २ ख १६ ४७ नम्बरका बस चालक तनहुँको व्यास नगरपालिका ६ का ३९ वर्षीय राम बहादुर बोहोरा, बागमती प्रदेश ०१ ००१ ख २५ १० नम्बरका बस चालक उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ८ का २८ वर्षीय भुवन खड्का, ना ६ ख ३० ६६ नम्बरका बस चालक रौतहटको चन्द्रपुर नगरपालिका ५ का ३७ वर्षीय दिपेश कुमार सिंह र लु ३ च २४ ८३ नम्बरका पिक अप चालक रुपन्देहीको कोटहीमाई गाउँपालिका ३ का २० वर्षीय प्रदिप यादवलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
त्यस्तै मधेस प्रदेश ०३ ००१ ख ९४ ७२ नम्बरका ट्रकका चालक बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का २९ वर्षीय जनक राज अवस्थी, ग २ ख १२ २९ नम्बरका ट्रक चालक पर्साको वीरगंज महानगरपालिका ३२ का २४ वर्षीय मखुल हुसेन र बागमती प्रदेश ०१ ००६ ख ४५ ८५ नम्बरका ट्रक चालक गोरखाको गण्डकी गाउँपालिका ७ बस्ने २३ वर्षीय संजिव नेपालीलाई पनि लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको प्रहरीले जनाएको छ।