१८ पुस २०८१, बिहिबार

आठ महिनामा १८४७ मोटरसाइकल चोरी

प्रकाशित मिति :  4 April, 2024 2:40 pm


काठमाडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको छ । तीमध्ये तीन सय ७४ मोटरसाइकल फेला परेका छन् ।

फेला परेका मोटरसाइकलमध्ये दुई सय ९१ वटा सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । उनका अनुसार चौबिस वटा आवश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा र १७ वटा भन्सार कार्यालयमा बुझाइएको छ ।

प्रनाम ढकालका अनुसार बाँकी ४२ वटा मोटरसाइकल सम्बन्धित धनीलाई बुझाउने क्रममा रहेका छन् । चोरीमा संलग्न २९ जनालाई प्रहरीले पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको उनले बताए । पछिल्लो समय चोरी भएका मोटरसाइकल खोजी र अनुसन्धानमा नेपाल प्रहरी सक्रिय रुपमा लागेको छ ।

यसैगरी आव २०७९(८० मा एक हजार आठ सय ५० वटा मोटरसाइकल चोरी भएका थिए । तीमध्ये पाँच सय ५१ मोटरसाइकल प्रहरीले फेला पार्न सफल भई चार सय ९९ वटा सम्बन्धित व्यक्तिलाई बुझाएको थियो । सो अवधिमा ट्राफिक प्रहरीले ३८ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको जनाएको छ ।

आव २०७८(७९ मा एक हजार छ सय चारवटा मोटरसाइकल चोरी भएकामध्ये पाँच सय छ वटा प्रहरीले फेला पारेको थियो । चार सय ३४ वटा मोटरसाइकल सम्बन्धित व्यक्तिलाई बुझाइएको केन्द्रीय प्रहरी प्रवक्ता ढकालले बताए । सो अवधिमा ट्राफिक प्रहरीले ४५ जनालाई पक्राउ गरी आवश्यक कानुनी कारबाही गरेको थियो ।

“चोरी भएका मोटरसाइकल खोजी तथा अनुसन्धान गर्न देशभरका प्रहरीलाई सक्रिय पारेका छौँ”, प्रहरी प्रवक्ता ढकालले भने, “यसका लागि विशेष योजना र कार्यक्रम तयार गरी सुक्ष्म तरिकाले निगरानी, प्रत्यक्ष अनुगमन र अनुसन्धान गरी चोरी भएका मोटरसाइकल पत्ता लगाउने र सम्बन्धित धनीलाई बुझाउने काममा सफलता मिलेको छ ।”

चोरी भएका सवारीसाधनको विशुद्ध खोजतलास र अनुसन्धानका लागि ‘भिक्टिम सपोर्ट युनिट’ स्थापना गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनले, “मोटरसाइकल चोरी नियन्त्रण गर्ने क्रममा बढी मात्रामा चोरी हुने स्थानमा निगरानी गर्ने, शङ्कास्पद व्यक्तिलाई नियन्त्रणमा लिने र कानुनी कारबाही गर्न थालेका छौँ ।”

चोरीका मोटरसाइकलको पाटपुर्जा खोली पुराना सक्कली मोटरसाइकलमा राख्ने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस !