मन्त्रीहरुले हरेक दिन प्रधानमन्त्रीलाई आफ्नो कामको ब्रिफिङ गर्नुपर्ने
काठमाडौँ। सरकारका मन्त्रीहरुले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरुले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुले हरेक दिन कुन काम राम्रो र ठूलो गरेका हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको जानकारी दिए।
उनले यसो गर्दा मन्त्री र कर्मचारीहरुलाई काम गर्न जागरुक बनाउने बताए। उनले भने, “गरेका कामहरुमध्ये कुनचाहीँ त्यो दिनको राम्रो र ठूलो काम गरियो त्यो ब्रिफिङ प्रधानमन्त्रीलाई प्रत्येक दिन गर्नुपर्ने भनेपछि त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ । सबै मन्त्रालयलाई, त्यसपछि सबै सचिवहरुलाई र सबै कर्मचारीहरुलाई तताउँछ भन्ने मेरो विश्वास छ । हामी बल गर्दैछौँ ।”
प्रधानमन्त्री दाहालले सरकारले गरे अनुरुपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीहरुले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताए। उनले कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रुपमा प्रयास गर्नुपर्नेमा जोड दिए।
—न्युज एजेन्सी नेपाल