२७ पुस २०८१, शनिबार

अर्थतन्त्रलाई लयमा ल्याउन पहल गर्दै निजी क्षेत्रलाई उत्साहित बनाउने काम गर्छुः अध्यक्ष अग्रवाल

प्रकाशित मिति :  11 April, 2024 4:31 pm


काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका नवनिर्वाचित अध्यक्ष कमलेशकुमार अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजीक्षेत्रलाई उत्साहित बनाउनु रहेको बताएका छन् ।

चेम्बरको अध्यक्षमा निर्वाचित भएपश्चात न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै अध्यक्ष अग्रवालले आफ्नो पहिलो प्राथमिकता निजीक्षेत्रको खस्केको मनोबल उच्च बनाएर अर्थतन्त्रलाई लयमा फर्काउनेमा रहेको उल्लेख गरे ।

उनले मुलुकको अर्थतन्त्रलाई लयमा फर्काउने, निजीक्षेत्रलाई उत्साहित बनाउने र लगानीमैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष अग्रवालले अर्थतन्त्रमा शिथिलता हुँदा निजीक्षेत्र समस्यामा रहेको भन्दै निजीक्षेत्रका समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्ने बताए । उनले सरकारले दुई वर्षअघि लिएका सहज नीतिलाई परिमार्जन गरी संकुचन नीति लिँदा निजीक्षेत्र धरासयी अवस्थामा पुगेको उल्लेख गरे ।

उनले अर्थतन्त्रमा शिथिलता आउनुको प्रमुख कारण पनि निजीक्षेत्र समस्यामा पर्नु भएको दाबी गरे । अध्यक्ष अग्रवालले मुलुकमा उत्पादनमुलक क्षेत्र ४० प्रतिशत मात्रै सञ्चालनमा रहेको उल्लेख गर्दै देशभरका सटरहरू खाली गरेर धेरै व्यवसायीहरू विदेश पलायन भएको दाबी गरे ।

अध्यक्ष अग्रवालले रोजगारी कटौती हुँदा विदेश जानेहरूको संख्या बढेको बताए । उनले विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारी र रुस–युक्रेन युद्वको कारण अर्थतन्त्रमा आएको प्रभावलाई कुशल व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको दाबी गरे ।

भारतमा कोभिडलगायतका समस्यालाई कुशल व्यवस्थापनमार्फत नियन्त्रण गर्दा जीडीपी ग्रोथ ७ प्रतिशत बढी भएको बताए । उनले राज्यले लिने नीगिगत व्यवस्थाहरू लगानीमैत्री हुन नसके लक्ष्य अनुसारको आर्थिक वृद्धिदर हुन नसक्ने बताए । राजस्वको लक्ष्य पूरा गर्न पनि निजीक्षेत्रले दबाब खेप्नुपरेको उनको भनाइ छ ।

उनले अर्थतन्त्र लयमा ल्याउनका लागि योजना तथा नीति निर्माण गर्ने निकायहरूबीच समन्वय आवश्यक रहेको बताए । उनले आगामी वर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट यथार्थपरक आउनुपर्ने जिकिर गरे । अध्यक्ष अग्रवालले सरकारले गत वर्ष जथाभावी रुपमा व्यवस्था गरेका करका दरहरू पुरानै अवस्थामा फर्काउनुपर्ने बताए ।

उनले बजेटमार्फत सरकारले अनावश्यक करका दरहरू बढाउन नहुने भन्दै करका दरहरू बढाउँदा व्यवसायीहरू निरुत्साहित हुने उल्लेख गरे । करका दर वृद्धि गर्दा चोरीपैठारी बढ्ने र निजीक्षेत्रको व्यापार घट्न थालेको उनको भनाइ थियो । सरकारले निजीक्षेत्रको संरक्षणका लागि करका दरहरू घटाउनुपर्नेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !