७ माघ २०८१, सोमबार

विश्वकप अगाडि सबैलाई अवसर दिइयोः कप्तान पौडेल

प्रकाशित मिति :  2 May, 2024 7:56 am


काठमाडौँ। पाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले ट्वान्टी–२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेस्ट इण्डिज ‘ए’ सँग बुधवारको खेलका केही खेलाडीलाई अवसर दिएको बताएका छन्।

बुधवारको तेस्रो खेलमा नेपालले नियमित कप्तान पौडेलसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ ११ मा समावेश गरेको थिएन । हारपछि कप्तान पौडेलले विश्वकप अगाडि सबै खेलाडीलाई प्रयोग गरिएको र सोहीअनुरूप केही नयाँ खेलाडीलाई अवसर दिइएको प्रतिक्रिया दिएका हुन्।

सबैको आग्रह राम्रो गर्ने खेलाडीलाई टोलीमा राख्नुपर्छ भन्ने रहेको र सोहीअनुरूप यो श्रृंखलामा धेरै खेलाडीलाई अवसर दिइएको उनले उल्लेख गरे। पौडेलले विश्वकपमा ध्यान दिन र आराम गर्न आफू आजको खेलमा विश्राम लिएको बताए।

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेट नेसनका रूपमा नेपाललाई स्थापित गर्न स्पष्ट भिजन आवश्यक हुने र सोहीअनुरूप नेपाली क्रिकेटको व्यवस्थापकसँग लगातार छलफल भइरहेको र वेस्ट इण्डिज ‘ए’ सँगको श्रृंखला राखिएको स्पष्ट पारे।

प्रशिक्षक मोन्टीले विश्वकपका लागि अन्तिम १५ खेलाडीका बारेमा पनि टोली स्पष्ट रहँदै आएको पनि बताए। उनले लेग स्पिनको आवश्यकताअनुरूप कुशल भुर्तेललाई सो जिम्मेवारीमा काम गराउँदै आइरहेको पनि प्रष्ट पारे।

नेपाल क्रिकेट संघ (क्यान) ले बुधवार नै वेस्ट इण्डिज र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने ट्वान्टी–२० विश्वकपका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा गरिसकेको छ ।

रोहितको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, अनिलकुमार साह, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, कमलसिंह ऐरी र सागर ढकाल छन् ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !