प्युठानका गिरी र एनसेलकी कंसकार नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा विभिन्न विधामा पुरस्कार प्रदान गरेको छ ।
प्युठानका डा. शैलेन्द्र गिरी नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४ बाट सम्मानित भएका छन् भने एनसेलकी एक्टिङ चीफ टेक्निकल अफिसर (सीटीओ) लेना केशरी कंसाकारलाई ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड २०२४’ (महिलातर्फ) बाट सम्मानित भएकी छिन्।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८१ को अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र संवृद्ध नेपाल निर्माणको अभियानमा पुर्याएको विशिष्ट योगदानको उच्च मुल्याङ्कन गर्दै नगद एक लाखसहित गिरी र कंशकारलाइ पुरस्कार प्रदान गरिएको हो ।
वि.स. २०५३ सालमा कम्प्युटर शिक्षकको रुपमा आइसिटी क्षेत्रमा प्रवेश गरेका डा. गिरीले एमएस्सी आइटी र कम्प्युटर विज्ञानमा नै पिएचडी गरेका छन्। २०६४ सालमा राप्ती इन्जिनियरिङ कलेजको स्थापना गरेर इनिजनियरिङ र आइटी शिक्षाको पहुच विस्तारमा डा. गिरीको योगदानको कदर गरिएको हो ।
गिरी हाल राप्ती इन्जिनियरिङको अध्यक्ष तथा कार्यकारी निर्देशकको रुपमा सेवा कार्यरत छन्। डा. गिरीका राष्ट्रिय तथा अन्तराष्ट्रिय जर्नलहरुमा दुई दर्जन बढी लेखहरु प्रकाशन भएका छन् ।
सन् २०२० देखि २०२१ सम्म वल्र्ड रिसर्च काउन्सिलमा कार्यकारी बोर्ड सदस्य समेत रहेका उनले रिसर्च पिस अवार्ड, जापान र युएईमा नेपाल शिक्षा अवार्डहरु प्राप्त गरका छन् ।
क्यान महासंघ नेपालको पूर्व केन्द्रीय सदस्य एवं क्यान महासंघ दाङ शाखाका संस्थापक अध्यक्ष गिरी विद्युतीय शासन र प्रविधि मैत्री सर्वजनिक सेवा, साइबर सुरक्षा, साइबर नीति र कानुन, कृतिम बौद्धिकता र अनलाइन शिक्षा लगायतका विषयमा नेपालका राष्ट्रि मिडियाहरुमा दर्जनौ लेखहरु प्रकाशन गरेका छन् भने डाइमेन्सन अफ इ लर्निङ पुस्तक पनि प्रकाशन गरेका छन्।
महिलातर्फकाे सम्मान पाएकी कंसाकार इन्जिनियरिङ क्षेत्रमा करियर सुरु गरेपछि सन् २००५ मा असिस्टेन्ट इन्जिनियरको रुपमा एनसेलमा जोडिएकी थिइन । अहिले उनी १४० बढी प्राविधिक कर्मचारीहरुको टोलीलाई नेतृत्व गर्दै एनसेलको एक्टिङ सीटीओको रुपमा कार्यरत छिन् ।
असिस्टेन्ट इन्जिनियर, इन्जिनियर, एक्जिक्युटिभ इन्जिनियर, टेक्निकल म्यानेजर, युनिट हेड, सेक्सन हेड हुदै अहिले उनी एक्टिङ सीटीओको उच्च पदमा नेतृत्व गरिरहेकी छिन् । एनसेलमा प्राविधिक क्षेत्रको उच्च पदमा पुग्ने कंसाकार पहिलो नेपाली महिला हुन् ।
एनसेलमा कार्यरत रही उनले टुजी, थ्रिजी, फोरजीको व्यापक विस्तार लगायत विभिन्न काम गरेकी एनसेलले जनाएको छ । कंसाकारले ग्रामीण क्षेत्रमा दुरसञ्चारको पहुच, भीओएलटीई सेवा विस्तार, डेटा सेन्टर स्थापना लगायतका दर्जनौ प्रोजेक्टहरुको लागि नेतृत्व लिएर कार्य गरेकी छिन् ।
काठमाडौं विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक, जर्मनीबाट इन्फरमेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नाकोत्तर र पोखरा विश्व विद्यालयबाट इएमबिए अध्ययन गरेकी कंसाकारले आफ्नो पेशा र क्षेत्रमा लगनशील रहि एनसेललाई देशको एक प्रमुख दूरसञ्चार सेवा प्रदायक कम्पनीका रुपमा स्थापित गराउँन योगदान दिएकी छिन् ।
दिवसकाे अवसरमा वान प्वाइन्ट फाईनान्सियल सर्भिसेज्ले नेसनल आइसिटी इनोभेसन अवार्ड २०२४ पुरस्कार जितेको छ । मोनाल टेक ‘नेसनल आइसिटी स्टार्टअप अवार्ड २०२४’ बाट सम्मानित भएको छ ।
सामाजिक सुरक्षा कोषले नेसनल आइसिटी अवार्ड २०२४ (पब्लिक सेक्टर) प्राप्त गरेको छ भने प्राईभेट सेक्टरमा डेटा हब यो पुरस्कारबाट सम्मानित भएको छ । प्रदेशस्तरबाट नीजि क्षेत्रको डाइनामिक टेक्नोसफ्टले नेसनल आइसिटी अवार्ड २०२४ जितेको छ ।