११ माघ २०८१, शुक्रबार

रेडक्रसद्वारा १७ जिल्लामा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन

प्रकाशित मिति :  3 May, 2024 4:13 pm


काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले देशभरका आफ्ना जिल्ला शाखा र निकायहरूलाई एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको छ । नेपाल रेडक्रस सोसाइटीको नवीकरणमा सहजीकरण गर्न एकीकृत लेखा प्रणाली अपनाउन आग्रह गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीको ४९ औँ महाधिवेशनमा लेखापरीक्षण प्रतिवेदन (अडिट रिपोर्ट) जिल्ला प्रशासन कार्यालयमा प्रस्तुत गरेर नवीकरणको लागि अघि बढ्नुपर्ने भएकोले छिटो गरी लेखापरीक्षण गराउन आग्रह गरेको हो ।

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष प्रा।सुदर्शनप्रसाद नेपालले रेडक्रसले अडिटको छलफल भइसकेको भन्दै ७७ जिल्लाकै अडिट रिपोर्ट आवश्यक रहेको बताए । उनले सबै जिल्लाहरूले समयभित्रै अडिट रिपोर्ट बुझाउन पनि आग्रह गरे । उनले भदौ महिनासम्म केन्द्रबाट अडिट गरेर असोजसम्म नवीकरण गरिसक्ने समय निर्धारण गरिएको बताए ।

उनले रेडक्रसले गत वर्ष २५ लाख भन्दा बढी जनतासमक्ष विविध कार्यक्रम र गतिविधि लिएर गएको बताए । उनले स्वास्थ्य प्रवर्द्धन एवं रोकथाम तथा पीडा न्यूनीकरण तथा सरसफाइ, खानेपानी स्वच्छता, पोषण खोप, रक्त सञ्चार प्राथमिकता र एम्बुलेन्स, मातृ तथा बालस्वास्थ्य, आँखा उपचार प्रवर्द्धन, प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, सर्ने तथा नसर्ने रोगहरू, महामारी, सर्पदंश उपचार सेवा लगायत आकस्मिक स्वास्थ्य लगायतका गतिविधिहरू सञ्चालन गरेको बताए । उनले विपद् न्यूनीकरण, पूर्व तयारी प्रतिकार्य पुनःलाभ कार्य लोकप्रिय हुँदै गइरहेको उल्लेख गरे ।

कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले सोसाइटीले आपत्कालीन प्रतिकार्यअन्तर्गत सुदूरपश्चिम र कर्णालीमा भूकम्पमा प्रतिपरिवार १५ हजार बहुउद्देश्यीय नगद सहयोग गरेको बताए । उनले ४ हजार ४२६ परिवार अस्थायी आवास, शौचालय ८१९ परिवार र पानी ट्याङ्की गरी एकमुष्ट ७२ हजार ५ सय वितरण गरिएको बताए ।

श्रेष्ठले त्रिपाल ८ हजार ३८५ थान, टेन्ट २४ वर्ग मिटरको ४ थान, कम्बल ९ हजार २५० थान, म्याट्रेस ९ हजार २ सय थान, सोलार बत्ती ८८० थान, हाइजिन किट ७५२ थान, डिग्निटी किट १४ हजार ६७८ पिस, क्विन्टल किट ७ हजार ७ हजार २५०, किशोरी किट ४ हजार ९७१, डोरी ७ सय, प्लास्टिक बाल्टी २ सय थान, प्याकिङ बोरा ३ हजार ९ सय र डेड बडी ब्याग २५० थान वितरण गरेको बताए ।

उनले विपद् तथा संकट व्यवस्थापन परियोजनातर्फ १७ जिल्लाहरूमा विपद् पूर्व तयारी र प्रतिकार्य सम्बन्धी परियोजनाहरू सञ्चालन भएको बताए । श्रेष्ठले कैलाली, कञ्चनपुर, बर्दिया, कालिकोट जिल्लाहरूमा १५ वटा पालिकास्तरीय र ६ वटा वडास्तरीय विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना २०८० अद्यावधिक भएको बताए ।

उनले रेडक्रसले विपद् जोखिम न्यूनीकरण, तातो हावा ‘लू’ तथा सरसफाइ सम्बन्धी ६ हजार ४ सय वटा सूचना, शिक्षा तथा सञ्चार सामग्री निर्माण गरी परियोजना सञ्चालित जिल्लाहरूमा वितरण गरिएको बताए । उनले कालीकोटको तिलागुफा, कैलालीको भजनी र कञ्चनपुरको शुक्लाफाँट नगरपालिकामा स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र स्थापना गरिएको बताए ।



प्रतिक्रिया दिनुहोस !