२७ पुस २०८१, शनिबार

नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम नाफामा गएका छन्ः प्रधानमन्त्री

प्रकाशित मिति :  3 May, 2024 4:15 pm


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालमा पर्यटक आगमनको उल्लेख्य वृद्धि भएको बताए । हालै सम्पन्न लगानी सम्मेलनमा उत्साहवद्र्धक रुपमा विदेशी लगानीकर्ताहरुको सहभागिताले फेरि नेपाललाई विकासको गति दिने आधार तय भएको उनले उल्लेख गरे ।

उनले आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर गरेका छन् । उहाँले शोधनान्तर स्थिति, वैदेशिक मुद्राको सञ्चिति, विप्रेषण, आय, राजश्व संकलनमा सुधार जस्ता कारणले अर्थतन्त्रका सूचकहरु बिस्तारै सकारात्मक दिशातिर अघि बढेको बताए ।

उनले वित्तीय नीति र मौद्रिक नीतिमा एकरुपता ल्याइ लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको बताएका छन् । सार्वजनिक संस्था र संस्थान व्यवस्थापन सुधार शुरु गरिएको बताए ।

प्रधानमन्त्री दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको बताए । उनले सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको उल्लेख गरे । ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको उनले जानकारी दिए । प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने उनले प्रतिवद्धता जनाएका छन् ।

प्रधानमन्त्री दाहालले नेपालको प्रेस जगत सधैँ परिवर्तनको पक्षमा उभिने गरेको उल्लेख गर्दै कतिपय आन्दोलनमा प्रत्यक्ष सरिक र कतिपय एजेण्डामा प्रेस जगतले ऐक्यवद्धता व्यक्त गर्दै आएको बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना एवं समाजको रुपान्तरण र जनताको अधिकार प्राप्तिका निम्ति नेपाली प्रेस जगतले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !