स्याङ्जाको वालिङ नगरपालिकाले सुरू गर्यो कृषि विकास परियोजना
काठमाडौँ । स्याङ्जाको वालिङ नगरपालिकामा ‘कृषि विकास परियोजना’ सुरू भएको छ । वालिङ नगरपालिका, हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सुरू भएको हो ।
वालिङका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जन गर्न लगाई गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरू गरिएको वालिङ नगरपालिकाले जनाएको छ ।
कृषि र पशुका माध्यमबाट नगरवासीका आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले कार्यक्रम सुरू गरेको नगरप्रमुख कृष्ण खाणले जानकारी दिए ।
परियोजनाले कृषि तथा पशु उद्यमअन्तर्गत महिला समूहमा काम गर्ने साथै कृषि उत्पादन र बजारीकरण, युवामा ऋण प्रवाह तथा फरक क्षमता भएका व्यक्तिहरूको आयआर्जनमा सघाउने पालिकाले जनाएकाे छ ।
परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि काम गर्ने छ । हेफरले परियोजनामा वालिङ नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । हेफरले दियालोसँगको साझेदारीमा कार्यक्रम सञ्चालन गरेको हो । परियोजनाका २६ महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको छ । सुलभ कर्जा प्रवाह गरिने र जुन रकम पछिसम्म पाँच करोडभन्दा बढी रहने बताइएको छ ।