राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जीवी नेपालले दिए राजीनामा
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले राजीनामा दिएका छन् ।
एक सय रुपैयाँको नोटमा नयाँ नक्सा छाप्ने मन्त्रिपरिषदको निर्णयको विरुद्ध अभिव्यक्ति दिएपछि विवादमा परेका नेपालले पदबाट राजीनामा दिएका हुन् ।
राष्टपति कार्यालय शितल निवासले आज एक विज्ञप्ती जारी गदै नेपालले दिएको राजीनामा स्वीकृत भएको जनाएको छ ।
गत वैशाख २० गतेको मन्त्रिपरिषद बैठकले कालापानी, लिपुलेक भूभागलाई समेटेर जारी गरिएको नयाँ नक्सा एक रुपैयाँको नोटमा राख्ने निर्णय गरेको थियो ।
सरकारले सय रूपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए ।
नेपालले विभिन्न संञ्चारमाध्याममा अन्तर्वार्तामा दिने क्रममा सरकारको निर्णय अनुपयुक्त समयमा आएको उल्लेख गर्दै भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय रहेको बताएका थिए ।
नेपालको उक्त अभिव्यक्ति विवादित बनेपछि राष्ट्रपतिले बोलाएर सोधपुछ गरेको स्रोतले जनाएको छ ।