२७ पुस २०८१, शनिबार

घरजग्गा कारोबार कम्पनीमार्फत गर्नुपर्छ: अध्यक्ष लोहनी

प्रकाशित मिति :  12 May, 2024 4:25 pm


काठमाडौँ । नेपाल घर जग्गा तथा आवासीय विकास महासंघका अध्यक्ष भेषराज लोहनीले घरजग्गा व्यवसायीहरूले व्यक्तिगत कारोबार भन्दा पनि कम्पनीमार्फत गर्न आवश्यक रहेको बताएका छन् । कास्की घरजग्गा तथा आवासीय विकास सङ्घको वार्षिक साधारण सभामा बोल्दै यस्तो बताएका हुन् ।

उनले व्यक्तिगत रूपमा घरजग्गाको कारोबार गर्दा घरजग्गा व्यवसायीहरूलाई हेर्ने दृष्टिकोण नकारात्मक भएको भन्दै संयुक्त कम्पनीमार्फत ठुला आयोजनाहरूमा काम गर्ने वातावरण व्यवसायीहरूले बनाउन आवश्यक देखिएको उल्लेख गरे ।

उनले सरकारले व्यवस्थित र पारदर्शी घरजग्गा कारोबार बनाउनको लागि ल्यान्ड पुलिङको ढोका खोल्न आवश्यक रहेको बताए । उनले ७५३ स्थानीय तहमा ल्यान्ड उपभोग नीति लागू भएकाले त्यहीअनुसार स्थानीय तहहरूले पनि सहर बनाउने गुरुयोजना बनाउनुपर्ने बताए ।

उनले स्थानीय तहहरूले बनाएको योजनामा निजी क्षेत्रले कम्पनीमार्फत काम गर्दा व्यवस्थित सहर बनाउन सकिने बताए । उनले अब साना व्यवसायीहरू मिलेर कम्पनी बनाउने र कम्पनीहरू पनि मर्ज भएर ठुलो पुँजी भएका कम्पनी बनाएर ठुला आयोजनाहरूमा काम गर्न आवश्यक भएको बताए ।

उनले भने, “ल्यान्ड पुलिङ सरकारले निजी क्षेत्रको लागि ढोका खोल्नुपर्छ । सरकारले ७५३ स्थानीय तहमा ल्यान्ड उपभोग पोलिसी लागू भइसकेको छ । उहाँहरूले आवासीय क्षेत्रहरूको वर्गीकरण गर्छ । त्यसको स्थानीय सरकारले गुरुयोजना बनाओस् । गुरुयोजनामा बिल्डिङ गर्नुपर्‍यो । टाउन प्लानिङ बनाउनुपर्छ । खुद्रे आयोजनाहरू होइन । घरजग्गा व्यवसायीले साना योजना गर्नुको सट्टा धेरै जना मिलेर कम्पनी बनाउने र साना कम्पनीहरू मर्ज भएर ठुला पुँजी भएका कम्पनीहरू बनाउनुपर्छ ।”

उनले सरकारले ल्यान्ड पुलिङ खुला गरी सहरी ऐन बनाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !