नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा सौदाबाजी गर्न मिल्दैन: मन्त्री गिरी
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषयमा सौदाबाजी गर्न नमिल्ने बताएका छन् ।
आउँदो जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्ने मिति तय भएलगत्तै उनले आइतबार सभामुख देवराज घिमिरे र प्रमुख सचेतकहरूसँगको छलफलपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
नीति, कार्यक्रम प्रस्तुत गर्ने विषयमा अप्ठ्यारो सिर्जना गरेर कांग्रेस गैरजिम्मेवार ढंगले प्रस्तुत हुन्छ भन्ने आफूलाई नलागेको उनले बताए । प्रमुख प्रतिपक्षसहितका सबै राजनीतिक दलहरूलाई सहमतिमा ल्याएर अघि बढ्न सरकारले जिम्मेवारीका साथ पहल गरिरहेको उनले उल्लेख गरे ।
मन्त्री गिरीले सरकारले सबै दलहरूलाई साथमा लिएर अघि बढ्न संवादलाई औपचारिक, अनौपचारिक रूपमा अघि बढाइरहेको पनि बताए ।