विमानस्थलबाट कपडामा लेपन गरिएको सुनसहित २ जना प्रकाउ
प्रकाशित मिति : 13 May, 2024 10:13 am
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले कपडाभित्र लेपन गरी ल्याएको सुन बरामद गरेको छ ।
दुबईबाट लगाएको कपडामा सुन लेपन गरेर नेपाल आउँदै गरेका दुईजना भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका हुन।
उनीहरुको साथबाट प्रहरीले लुगामा लेपन गरेको सुन बरामद गरेको हो। पक्राउ पर्नेमा भारतीय नागरिक ३३ वर्षीय सुरेशकुमार र ३४ वर्षीय मोहनकुमार गणेशन रहेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रमुख एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।
सुरेशकुमारले लेपन गरी लगाएको लुगाको तौल २ किलो ६ सय ग्राम र गणेशनको लुगाको तौल २ किलो पाँच सय ग्राम रहेको छ । यद्यपी सुनको तौल भने कपडा र सुन छुट्याएपछि मात्र यकिन हुने अनुसन्धानमा संलग्न अधिकृतहरू जानकारी दिए ।