कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिने
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन्।
आज बिहान ११ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने तयारी रहेको छ । संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्री कार्कीले उपधारा ४ अनुसार विश्वासको मत लिन लागेका हुन् ।
वैशाख २७ गते कोसी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन पद तथा गोपनीयताको शपथ लिएका थिए। उनलाई नेकपा (एमाले) का ३९, नेकपा (माओवादी केन्द्र) का १३ सहितका ५२ प्रदेशसभा सदस्यको समर्थन रहेको छ।
२०८० असोज २७ गते एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कांग्रेस सांसद केदार कार्कीलाइ माओवादीले पनि विश्वासको मत दिएको थियो । फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि चैत २६ गते एमाले र माओवादीका ५२ जना सदस्यले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएका थिए ।