दुर्गमका सबै पालिकामा नुन सुलभ रुपमा उपलब्ध गराउन संसदीय समितिको निर्देशन
काठमाडाैँ । संसदीय समितिले दुर्गम जिल्लाका सबै पालिकाहरूमा सुलभ रूपमा नुनको उपलब्धता गराउन सरकारलाई निर्देशन दिएको छ ।
सोमवार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले दुर्गम जिल्लाका पालिकाहरूमा अझैपनि नुनको अभाव रहेको भन्दै सबै पालिकामा सुलभ रूपमा नुन उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको हो ।
समितिले साल्ट ट्रेडिङ्ग कर्पोरेशनबाट आपूर्ति हुने गरेको रासायनिक मल, चिनी लगायत अत्यावश्यक खाद्य वस्तुहरूको गुणस्तर कायम गर्न पनि निर्देशन दिएको छ । त्यस्तै कालोबजारी र कृतिम अभावको अन्त्य गर्न पनि समितिले भनेको छ । समितिले सरकारलाई साल्ट ट्रेडिङ्ग कर्पोरेशनलाई भुक्तानी दिनुपर्ने रकम भुक्तानीको व्यवस्था मिलाउन पनि निर्देशन दिएको समिति सभापति अब्दुल खानले बताए ।
समिति बैठकमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटडले गरेका काम, कारबाहीहरूको सम्बन्धमा छलफल भएको थियाे ।