नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको सर्वेक्षणको प्रतिवेदन
काठमाडाैँ । नेपालमा ३६ प्रतिशतलाई जलवायु परिवर्तनको सम्बन्धमा ज्ञान भएको देखिएको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयले सोमवार सार्वजनिक गरेको राष्ट्रिय जलवायु परिवर्तन सर्वेक्षण २०२२ को प्रतिवेदन अनुसार नेपालमा ३६ प्रतिशत जनसंख्यालाई जलवायु परिवर्तन सम्बन्धी ज्ञान भएको देखिएको हो ।
प्रतिवेदन अनुसार २६ प्रतिशत महिलामा र ३९ प्रतिशत पुरुषमा जलवायु परिवर्तन सम्बन्धी ज्ञान भएको देखिएको छ । प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक प्रमोदराज रेग्मीले उनीहरूले रेडियो र टेलिभिजनमार्फत ज्ञान प्राप्त गरेको देखिएको बताए । तथ्यांक कार्यालयले २९ वटा जिल्लाका ६ हजार ५२० घरपरिवारमा सर्वेक्षण गरेको उहाँले जानकारी दिए । सर्वेक्षणका क्रममा अधिकांशले व्यक्तिगत रुपमा जलवायु परिवर्तनको अनुभुति गरेको कुरा बताएका उनले उल्लेख गरे ।
सबैभन्दा बढी २५.२ प्रतिशतले जलवायु परिवर्तनको मुख्य कारण वन विनाश भएको जवाफ दिएका उनले बताए । त्यस्तै जलवायु परिवर्तनको कारणहरूमा औद्योगिकीकरण, शहरीकरण र अन्य मानवीय कारणहरू पनि रहेको उनीहरूको जवाफ रहेको छ । सर्वेक्षणका क्रममा १३ प्रतिशतले प्राकृतिक प्रकोपको सम्बन्धमा रेडियोमार्फत पूर्वसूचना लिने गरेको पनि देखिएको छ । सर्वेक्षणको क्रममा करिव ९० प्रतिशतले तापक्रम परिवर्तनको प्रत्यक्ष अनुभव गरेको बताएका तथ्यांक कार्यालयका निर्देशक रेग्मीले बताए ।
त्यस्तै अधिकांशले पानी पर्ने ढाँचामा पनि परिवर्तन आएको महशुस गरेको बताएका थिए । जलवायु परिवर्तनको कारण असर परेको पनि उनीहरूको भनाइ रहेको निर्देशक रेग्मीले जानकारी दिए ।