न्यायपालिकाप्रतिको आशंका निवारणमा सबै पक्षको प्रयास केन्द्रित हुनुपर्छः प्रधानन्यायाधीश श्रेष्ठ
काठमाडाैँ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायपालिकाप्रतिको आशंकाहरूको निवारण तथा भरोसायोग्य न्याय प्रणालीको विकासका लागि संवद्ध सबै पक्षका प्रयासहरू केन्द्रित हुनुपर्ने बताएका छन् ।
शुक्रवारबाट काठमाडौँमा शुरु भएको कानून व्यवसायीहरूको राष्ट्रिय सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
प्रधानन्यायाधीश श्रेष्ठले विशेष गरी आम नागरिकहरू विश्वस्त हुनसक्ने वातावरण निर्माण गर्ने ठोस र नतिजामुलक कार्य सम्पादन अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसका लागि नेपाल बार एशोसिएशन, कानून व्यवसायीहरू र अदालतले मिलेर काम गर्नुपर्ने बताए ।
अदालत र बार एशोसिएशन तथा न्यायाधिश र कानून व्यवसायीहरुको भुमिका केही फरक रहेपनि सबैको लक्ष्य वा गन्तव्य न्यायको सुनिश्चितता र न्यायपूर्ण समाजको प्रत्याभूति रहेको औल्याउँदै उनले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजानुपर्ने बताए ।
प्रधानन्यायाधीश श्रेष्ठले आगामी साउनदेखि लागू हुनेगरी पाँचौं पञ्चवर्षीय रणनीतिक योजनाको तर्जुमा भइरहेको भन्दै त्यसमा सुझाव दिन पनि नेपाल बार लगायत संवद्ध सबैमा आग्रह समेत गरे ।
त्यस अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले स्वतन्त्र न्यायपालिकाको मान्यतालाई अक्षुण्ड राख्दै संविधानले परिकल्पना गरेको न्यायपालिकाको भुमिकालाई सशक्त बनाउन नेपाल बारले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए ।