सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति
काठमाडाैँ । शिर्ष नेताहरूको बैठकमा सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउने सहमति जुटेको छ ।
शनिवार साँझ प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा बसेको नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायतका शिर्ष नेताहरूको बैठकबाट सो सहमति जुटेको हो ।
यद्यपि सहमति उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि केन्द्रित भएर हो वा होइन भन्नेबारे स्पष्ट भइसकेको छैन । नेपाली काँग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि नै केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको थियो । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले मुख्य दलको शिर्ष नेताहरुको बैठकबाट संसदीय छानबिन समिति बनाएर जाने सहमति भएको बताए । उनले समिति बनाउन कानून, न्याय तथा संसदीइ मामिलामन्त्री पदम गिरीले सरकारको तर्फबाट सहजीकरण गर्ने पनि बताए ।
प्रमुख सचेतक लेखकले टिओआर भने कार्यदलले आइतवार बनाउने बताइएको छ । समिति बन्ने भएसँगै आइतवारको संसद सहज रूपमा अघि बढ्ने प्रमुख सचेतक लेखकले बताए ।