८ मंसिर २०८१, शनिबार

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

प्रकाशित मिति :  19 May, 2024 9:59 am


काठमाडौँ । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार भएको हिंसात्मक आक्रमणको सन्दर्भमा सरकारले त्यस्तो आग्रह गरेको हो ।

गत शुक्रबार किर्गीस्तानको राजधानी बिस्केकमा हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार सूचना जारी गरी त्यहाँ रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो। पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार त्यहाँ रहेका सबै नेपाली सकुशल छन् ।

दूतावासले शनिबार एक सूचना जारी गरी किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाबाट असुरक्षा बढेकाले घर बाहिर ननस्किन भनेको हो।

दूतावासका अनुसार त्यो क्षेत्रमा करिब दुई सय ८० को सङ्ख्यामा नेपाली छन्। ‘बिस्केक र वरपर रहेका नेपाली हालसम्म सकुशल छन्,’ सूचनामा भनिएको छ, ‘स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ।’

दूतावासले कुनै किसिमको समस्या परेमा त्यहाँ रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ।

साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नम्बर +92512610321 (ह्वाट्सयाप समेत) र इमेल [email protected] मा सम्पर्क गर्न सकिने जनाएको छ।



प्रतिक्रिया दिनुहोस !