प्रधानमन्त्रीलाई विश्वास मत दिन्छाैँ, कसैले शंका नगरे हुन्छः माधवकुमार नेपाल
प्रकाशित मिति : 19 May, 2024 4:50 pm
काठमाडाैँ । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने कुरामा शंका गर्न जरुरी नभएको बताएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ७ गते सोमवार (भोलि) चौथो पटक संसदमा विश्वासको मत लिँदै छन्। अध्यक्ष नेपालले सरकारमा भएकाले आफ्नो पार्टीले प्रधानमन्त्रीलाई विश्वासको मत दिने स्पष्ट पारे ।
आइतबार पार्टी मुख्यालय आलोकनगरमा सञ्चारकर्मीहरूलाई उनले नैतिकताको प्रश्न पनि खडा हुने हुनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिँदैन कि भनेर आफ्नो पार्टीमाथि शंका नगर्न र दुविधा नपाल्न पनि आग्रह गरे ।
अध्यक्ष नेपालले संसदलाई सहज ढंगले अघि बढाउने कुरामा सबै राजनीतिक दलहरुले ध्यान दिनुपर्ने समेत बताए ।