गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयोः गगन थापा
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताको जस्तो भएको टिप्पणी गरेका छन् ।
उपप्रधानमन्त्री लामिछानेले सहकारी प्रकरणमा आफूमाथि उठेको प्रश्नको जवाफ संसदमा दिए लगत्तै पत्रकार सम्मेलन गरी महामन्त्री थापाले गृहमन्त्रीले फाईल खोलिदिउँ भनेर भनेको सुन्दा आफू चकित भएको बताए । गृहमन्त्रीले त धमाधम फाईल खोल्नुपर्ने महामन्त्री थापाको भनाई थियो ।
महामन्त्री थापाले भने,”मलाई आज गृहमन्त्रीको प्रश्तुतीले टेलिभिजन प्रश्तोता हो कि गृहमन्त्री को अभिव्यक्ति हो भन्ने थोरै कन्फ्युजन भयो । किनकी टेलिभिजन प्रश्तोता हुँदा प्रश्नहरू सोध्ने, विषयहरू उठाउने स्वभाविकै कुरा हो । जुन तपाईहरूले पनि गरिराख्नुभएको छ । तर गृह मन्त्रालय भनेको त ठूलो जिम्मेवारी हो नि । हाम्रो सरकारको कार्य सञ्चालन नियमावलीले पनि गृह मन्त्रालयलाई त्यसमाथि पनि अझ उपप्रधानमन्त्री कति धेरै महत्वपूर्ण जिम्मेवारी दिइएको छ । आज मैले उहाँले भन्दैगर्दा यसो सुनेको थिए–म तेरो फाईल खोलिदिउ, म तेरो अनुसन्धान गरिदिउँ ? मेरो गर्छु भन्छस् भने तेरो पनि गरिदिन्छु । अरे बाबा, गृहमन्त्रीले यस्तो भन्ला र गृह मन्त्रीले त धमाधम फाईलको पनि खोल्ने हो” ।
महामन्त्री थापाले सरकारमा बस्नेले अनुसन्धान गर्छु भन्ने हुनुपर्नेमा गृहमन्त्री लामिछानेले संसदीय समिति विभिन्न विषयमा बनाउनु नहुने भनेर निरिहता प्रदर्शन गरेको जिकिर पनि गरे ।