२५ पुस २०८१, बिहिबार

संसदबाटै बजेट आउने माओवादी सांसदहरूको दाबी

प्रकाशित मिति :  21 May, 2024 5:26 pm


काठमाडाैँ । सत्तारुढ नेकपा(माओवादी केन्द्र)का सांसदहरुले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट संसदबाटै आउने दाबी गरेका छन् ।

सरकारले संसद अधिवेशन अन्त्य गरेर आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने चर्चा चलिरहेका बेला सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका सांसदहरुले अध्यादेशबाट बजेट ल्याउने कुरा केबल चर्चा मात्रै भएको बताएका हुन् ।

उनीहरुले सरकारले बजेट संसदबाटै ल्याउने भन्दै त्यसको लागि वातावरण बनाउन प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का सचिव समेत रहेका सांसद देवेन्द्र पौडेलले सरकारले अध्यादेशबाट बजेट ल्याउने कुरा चर्चा मात्रै भएको बताए ।

उनले सरकार जेठ १५ गते संसदबाटै बजेट ल्याउन तयार रहेको भन्दै यसका निम्ति प्रतिपक्ष दलहरु पनि तयार हुनुपर्ने बताएका हुन् । सरकारको नीति, कार्यक्रम तथा बजेट संवैधानिक व्यवस्था अनुरुप ल्याउनुपर्ने बाध्यात्मक अवस्था भएको भन्दै यसलाई पारित गर्नका लागि प्रतिपक्षहरुपनि तयार हुनुपर्ने उनकाे भनाइ छ । सरकारको नीति, कार्यक्रम र बजेटमा प्रतिपक्षको सहयोग रहेमा प्रतिपक्षको मागमा सरकार पनि लचिलो हुने उनले बताए । 

नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यादेशबाट बजेट ल्याउने बाटोमा जान तयार नभएको बताए । उनले संसदबाटै बजेट ल्याउनका लागि नै सरकार विनम्र र धैर्य भएर प्रतिपक्षको बिरोधको बाबजुद पनि बैठक चलाउन प्रयत्न गरिरहेको उल्लेख गरे । सत्तारुढ दलका कुनैपनि घटकहरु अध्यादेशबाट बजेट ल्याउने पक्षमा नरहेकाे उनकाे भनाइ छ ।

सांसद सापकोटाले बजेटलाई अध्यादेशको बाटोमा हिँडाउने वा नहिँडाउने भन्नेकुरा प्रमुख प्रतिपक्षको हातमा रहेको पनि बताए ।



प्रतिक्रिया दिनुहोस !