८ मंसिर २०८१, शनिबार

नेपालगञ्जमा गर्मीबाट स्थानीयलाई बचाउन ‘कुलिङ सेन्टर’ सञ्चालनमा ल्याउने रेडक्रसको तयारी

प्रकाशित मिति :  21 May, 2024 6:27 pm


काठमाडाैँ । नेपाल रेडक्रम सोसाईटीले गर्मीबाट स्थानीयलाई बचाउन नेपालगञ्जमा ‘कुलिङ सेन्टर’ स्थापना गर्ने भएको छ ।

गर्मीबाट हुने लु लगायतका विपद् व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्यमा सो सेन्टर स्थापना गर्ने कामलाई अघि बढाएको हो ।

बालबालिबालिका, बुढाबुढी र रोगी मानिसहरुलाई गर्मीबाट हुने जोखिम टार्नका लागि नेपालगञ्ज उपमहानगरपालिकासँगको सहकार्यमा सो कुलिङ सेन्टर स्थापना गर्ने तयारीको कामलाई अन्तिम चरणमा पु¥याइएको रेडक्रसका विपद् व्यवस्थापन निर्देशक सागर श्रेष्ठले बताए ।

अहिले रेडक्रसले सबैभन्दा बढी गर्मी हुने देशका मुख्यमुख्य शहरहरु नेपालगञ्ज, भैरहवा, धनघढी र विराटनगरमा गर्मीबाट बच्ने उपायबारे जानकारी गराउने उद्देश्यले ‘हिट एक्सन प्लान’ कार्यक्रम कार्यान्वयनमा ल्याएको छ । त्यसैगरी गर्मीमा खानेपानीको अभाव हुन नदिन नेपालगञ्ज र भैरहवामा निःशुल्क वाटर एटिएमको पनि व्यवस्था गरिएको रेडक्रसका विपद् व्यवस्थापन विभागका निर्देशक श्रेष्ठले बताए ।

रेडक्रसले तराईको अधिकांश जिल्लाहरूमा गर्मीले निम्त्याउने विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने योजना पनि तय गरिएको जनाएको छ । विपद् व्यवस्थापन विभागका अनुसार त्यसको लागि स्रोतको खोजी गर्ने काम भईरहेको छ । रेडक्रसले सन् २०२१ देखि गर्मीबाट हुने जोखिम न्युनिकरणको क्षेत्रमा पनि काम गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !