२७ पुस २०८१, शनिबार

चुरे संरक्षणको माग गर्दै पदयात्रा, माइतीघर मण्डलामा धर्ना

प्रकाशित मिति :  23 May, 2024 4:22 pm


काठमाडाैँ । चुरे संरक्षणको लागि दबाब दिन चुरे संरक्षण पद यात्रा गर्दै २५ जनाको टोली काठमाडौँ आइपुगेको छ ।

चुरे संरक्षणको माग गर्दै सप्तरी जिल्लाको भारदहदेखि वैशाख १६ गते चुरे संरक्षण पद यात्रामा निस्किएको टोली बिहीवार काठमाडौँ आइपुगेको हो । टोलीले काठमाडौँस्थित माईतीघर मण्डलामा धर्ना सुरू गरेको छ ।

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालको ब्यानरमा चुरे संरक्षण लगायतका विभिन्न माग राखी २५ जनाको टोली काठमाडौं आइपुगेको हो ।

चुरे तथा वनजंगल विनाशको कारणले तराई, मधेसमा नदीको मुहान सुकेर पानीको हाहाकार हुने स्थिति आएको र सिंगो देश नै जलवायु परिवर्तनको चपेटामा परेको भन्दै चुरे संरक्षण अभियान सुरू गरिएको जनाइएको छ ।

पदयात्रा टोलीले चुरे क्षेत्रमा अवैध उत्खनन तत्काल बन्द गर्नुपर्ने लगायतका एक दर्जनभन्दा बढी मागहरू अघि सारेका छन् । चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले मधेस प्रदेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरिनुपर्ने आफूहरुको माग रहेको बताए ।

उनले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट राजनीतिक दलको कार्यकर्ता पाल्ने मात्र काम भएको भन्दै राष्ट्रपति चुरे संरक्षण विकास समितिलाई स्वतन्त्र बनाउनुपर्ने बताए । उनले चुरे संरक्षणका लागि छुट्टै चुरे ऐन निर्माण गर्नुपर्ने पनि आफूहरूको माग रहेको स्पष्ट पारे ।

त्यस्तै चुरे क्षेत्रभित्रका नदीनालाबाट हुने अवैध निकासी तथा ढुङ्गा, गिटी, बालुवा र क्रसर उद्योगहरूलाई तत्काल बन्द गरी यस्ता कार्यमा संलग्नहरूलाई कारबाही गर्न पनि माग गरिएको छ ।

धर्नामा रहेकाहरूले आफूहरू तेस्रो पटक चुरे संरक्षणको माग गर्दै पदयात्रामा आएको बताउँदै अब पनि माग पूरा गर्न सरकार गम्भीर नबने संघर्षको कार्यक्रम जारी राख्ने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !