७ माघ २०८१, सोमबार

सभामुख सत्ताको इसारामा चलेको प्रतिपक्षको आरोप

प्रकाशित मिति :  24 May, 2024 4:10 pm


काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभा बैठकमा बोल्न नपाएको भन्दै सभामुखलाई सत्ताको इसारामा चलेको आरोप लगाएको छ ।

शुक्रवारको प्रतिनिधि सभा बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले अवरोध गरेको छ । काँग्रेसको अवरोधको कारण प्रतिनिधि सभा बैठक कार्यसूचिमा प्रवेश नगरी स्थगित भएको हो ।

बैठक सुरू हुनासाथ नेपाली काँग्रेसका सांसदहरू आ–आफ्नो ठाउँबाट उठेर बिरोध जनाएका थिए भने सांसदहरुले बोल्नका लागि समय माग गरेका थिए । तर सभामुख देवराज घिमिरेले बोल्नका लागि वातावरण बनाउन भन्दै बसेर सहयोग गर्न आग्रह गरेका थिए ।

तर काँग्रेस सांसदहरू बस्न तयार नभएपछि सभामुखले कुनै कार्यसूची अगाडी नबढाइ बैठक स्थगित भएको जानकारी गराए । बैठक स्थगित भएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली काँग्रेसका सांसदहरूले सभामुख सत्ताको इसारामा चलेको आरोप लगाए ।

सांसद प्रदीप पौडेलले सभामुखले काँग्रेस सांसदहरुलाई बोल्न नदिएको भन्दै संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यताकै उल्लंघन गरिएको बताए । उनले सत्ताको इराशामा संसद एकलौटी ढंगले चलाउन खोजिएको आरोप लगाए ।



प्रतिक्रिया दिनुहोस !