१० माघ २०८१, बिहिबार

आगामी आर्थिक वर्षको बजेट १७ खर्बमाथि जानु हुँदैनः पूर्वअर्थमन्त्री पौडेल

प्रकाशित मिति :  24 May, 2024 5:54 pm


काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट सुरूकै दिनमा बजेटको अस्तित्वमाथि प्रश्न चिन्ह उठ्ने गरी ल्याउन नहुने बताएका छन्।

शुक्रवार नेपाल बुद्धिजीवी परिषद्ले आर्थिक वर्ष २०८१\०८२ को बजेटको कार्यदिशा बारेको छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले सरकारले ल्याउने बजेट सुरूकै दिनमा बजेट कार्यान्वयनमा चुनौति रहेको सन्देश दिनेगरी ल्याउन नहुने बताए ।

पूर्वअर्थमन्त्री पौडेलले सरकारले बजेटको आकार मुलुकको अर्थतन्त्रको वास्तविकता र लिमिट क्रस गर्न नहुने उल्लेख गरे । उनले १७ देखि २० खर्बको आकारमा बजेट ल्याउने सुनिएको भन्दै सरकारले असिमित ढङ्गले ठूलो आकारको बजेट बनाउन नहुने सुझाव दिए ।

उनले बजेट राजश्व,अन्तर्राष्ट्रिय ऋण र आन्तरिक ऋण परिचालनको आधारलाई नहेरी बजेटको आकार वृद्धि गर्ने छुट नभएको बताए । उनले माग बढी भएकाले ठूलो आकारको बजेट बनाउने अवस्था नभएको उल्लेख गरे ।

पौडेलले सरकारले १७ खर्ब भन्दा माथिको बजेट जान नहुनेमा जोड दिए । उनले आगामी आर्थिक वर्षको बजेट हाम्रो मनोगत आकांक्षामा बजेट बन्न नसक्ने दाबी गरे ।

उनले मुलुकको वस्तुगत र आर्थिक अवस्थालाई हेरी आर्थिक अवस्थाको सापेक्षतामा सरकारले बजेट निर्माण गर्ने उल्लेख गरे । उनले १६ औं योजना,दिगो विकास लक्ष्य,अल्पविकसित मुलुकबाट विकाउन्मुख देशमा स्तरउन्नती हुँदाका अवसर र चुनौतीको आधारका साथै सरकारमा सहभागि भएका राजनीतिक दलहरूको नीतिगत प्राथमिकता र साझा सङ्कल्पका आधारमा बजेट आउनमा जोड दिए ।

उनले मुलुकको स्रोत,साधन र सम्भावनाहरुको सापेक्षतामा बजेट निर्माण गरिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !