फागुनसम्म कुल २ लाख ६८ हजार ७ सय मेट्रिक टन मल आयात
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०\८१ को फागुनसम्म कुल २ लाख ६८ हजार ७ सय मेट्रिक टन मल आयात भएको छ ।
गत आर्थिक वर्षको मौज्दात समेत गरी चालु आर्थिक वर्षको फागुनसम्म २ लाख ७० हजार ६ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण गरिएको सरकारले आर्थिक सर्वेक्षण २०८०\८१ मा उल्लेख छ ।
गत आर्थिक वर्षको फागुनसम्म २ लाख ३२ हजार ८६ मेट्रिक टन रासायनिक मल आयात भएको थियो भने मौज्दात समेत गरी १ लाख ७८ हजार ३२ मेट्रिक टन बिक्री वितरण गरिएको थियो ।
चालु आर्थिक वर्षका लागि रासायनिक मलको कुल माग ६ लाख मेट्रिक टन रहेको छ जसमध्ये युरिया ३ लाख ६० हजार, डिएपी २ लाख २० हजार र पोटास २० हजार मेट्रिक टन छ ।
गत आर्थिक वर्ष २०७९\८० रासायनिक मलको कुल माग ५ लाख २० हजार मेट्रिक टन रहेकोमा आर्थिक वर्षको अन्त्यसम्म ४ लाख ७ हजार ३ सय मेट्रिक टन मल आयात भई ३ लाख ४२ हजार ७ सय मेट्रिक टन मल अनुदानमा बिक्री वितरण भएको थियो ।
चालु आर्थिक वर्षको फागुनसम्म माग अनुसारको २ लाख ७० हजार ६ सय मेट्रिक टन मल बिक्री वितरण भएको छ । हाल कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडमा कुल ८१ हजार मेट्रिक टन मल मौज्दात रहेको उल्लेख छ ।