नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
प्रकाशित मिति : 29 May, 2024 9:58 am
काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–९ थुम्सीमा पुल भासिएर अवरुद्ध भएको सडक मङ्गलबार दिउँसोदेखि एकतर्फी सञ्चालनमा आएको थियो भने अवरुद्ध दाउन्नेखण्ड आज बिहानदेखि सञ्चालनमा आएको हो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक हस्तबहादुर सुनारले सडक दुईतर्फी सञ्चालनमा आएसँगै यातायातका साधन सहज रुपमा सञ्चालन भइरहेकाे जानकारी दिए ।
दाउन्ने डाँडाँमा लेदो माटोका कारण गएरातिदेखि अवरुद्ध भएको उक्त खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको प्रहरी निरीक्षक सुनारले जानकारी दिए ।
सडक विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडकखण्डमा पानी परेपछि यात्रुले सधैँ सास्ती खेप्दै आएका छन् ।