सहकारीका बचतकर्ताहरूको छिट्टै बचत फिर्ता हुन्छ,निरुत्साहित हुनु पर्दैन: अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सहकारीका बचतकर्ताहरूको रकम फिर्ता हुने प्रतिवद्धता व्यक्त गरेका छन् । अर्थमन्त्री पुनले बुधबार पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका सबैखाले समस्या समाधान बजेटमा उल्लेख कुरालाई कार्यान्वयन गरिने बताएका हुन् ।
उनले अहिले कोही पनि सहकारीका कारण निरुत्साहित हुनु नपर्ने पनि दाबी गर्दै सहकारीमा सञ्चालकले गल्ती नगरेको भए डराउनुपर्ने अवस्था नभएको बताए ।
उनले सहकारीमा संरचनात्मक र नीतिगत सुधार आवश्यकलाई सरकारले तत्काल गर्ने प्रतिवद्धता जनाए । उनले सहकारीका सञ्चालकले वचतकर्ताको वचत फिर्ता नगरेपछि एकाघर परिवारका सदस्यले राखेको सम्पतीको धितोबाट ५\५ लाख रुपैयाँ भएपनि फिर्ता गर्नतर्फ आफूहरू लागेको बताए ।
उनले सहकारीलाई संविधानले पनि तीन खम्बे अर्थ नीतिमा एक खम्बा मानेको अवस्थामा केही सहकारीले ऐन कानून, सहकारीको मूल्य मान्यता, सिद्धान्त भन्दा बाहिर गएर कारोबार गर्दा यो क्षेत्र बद्नाम भएको उल्लेख गरे ।
उनले सरकारले अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा कानूनमा आवश्यक संशोधन गरी सहकारिताको सिद्धान्त र नीतिबमोजिम सहकारी सञ्चालन हुने व्यवस्था गरिने, बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने, बचत तथा ऋण सहकारीलाई एक आपसमा गाभिन सहजीकरण गरिने व्यबस्था गरेको बताए ।