सरकारले कृषि बिमाको ९७ करोड अनुदान भुक्तानी गर्ने
काठमाडौँ । सरकारले बिमा प्रिमियम रकममध्ये ९७ करोड रुपैयाँ भुक्तानी गरेर तत्काल कृषि बिमा सुचारु गर्ने भएको छ। आज (बिहीबार) कृषि तथा पशुपन्छी विकास मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै उक्त रकम भुक्तानी गरेर कृषि बिमा सुचारू गर्ने सहमति भएको जानकारी दिएको छ।
“गत चैत १ गतेदेखि स्थगन भएको बिमा सम्बन्धमा छलफल भइ बिमा कम्पनीहरूले जारी गरेको कृषि तथा पशुपन्छी बिमा अन्तर्गतको बिमालेख बापत प्राप्त गर्नु पर्ने बाली तथा पशुधन बिमा प्रिमियम रकममध्ये हाललाइ ९७ करोड रुपैयाँ भुक्तानी गर्ने र चालू आर्थिक वर्ष भित्रै बाँकी रकम भुक्तानी गर्ने गरी मन्त्रालयले पहल गर्ने र बिमकहरूले कृषि तथा पशुपन्छी बिमा सुचारु गर्ने गरी सहमति भएको छ,” विज्ञप्तिमा उल्लेख छ।
सरकारले बिमा प्रिमियम रकम निकासा नगर्दा यहि चैत १ गतेदेखि बिमक कम्पनीले कृषि तथा पशुपन्छी बिमा रोकेका थिए।