२३ भाद्र २०८१, आइतबार

कोशी प्रदेशबाट सुरू भयो श्रमाधान रोजगार मेला

प्रकाशित मिति :  30 May, 2024 5:13 pm


काठमाडाैँ । विराटनगरबाट ‘श्रमाधान रोजगार मेला’को शुभारम्भ भएको छ । सातै प्रदेशमा हुने रोजगार मेला’को शुभारम्भ भने विराटनगरबाट भएको हो ।

कोशी प्रदेशको राजधानी विराटनगरमा बिहीवार र शुक्रवार मेला सञ्चालन हुनेछ । बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेका हुन् ।

मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशिलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याएको बताए ।

उनले एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रवन्ध गरेको बताए ।

उनले दृढ इच्छाशक्तिका साथ लाग्ने हो भने केही वर्षभित्रै नेपाललाई बदल्न सकिने बताए । मेलामा कोशी प्रदेशका ५० भन्दा उद्योगी व्यवसायीले स्टल नै राखेर रोजगारीका लागि आवेदन आह्वान गरेका छन् ।

रोजगारीको खोजीमा रहेकाहरूले सीप, क्षमता र योग्यताअनुसारको जागिरका लागि प्रश्ताव गर्न र जागिर प्राप्त गर्न मेला प्रभावकारी हुन सक्ने निजी क्षेत्रको पनि बुझाइ छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले श्रमाधान रोजगार मेलाले रोजगारीको खोजी गरिरहेका दक्ष जनशक्तिका लागि जागिर पाउने उपयुक्त थलो बन्नसक्ने बताए।

मेलाले रोजगारदाता कम्पनी र श्रमको खोजिमा रहेका नेपाली नागरिकलाई जोड्ने पुलको काम गर्ने विश्वास व्यक्त गरे । प्रदेशकै करिव ७० प्रतिशत उद्योग व्यवसाय भएको शहर विराटनगरमा आयोजित मेला रोजगारी खोजी गरिरहेका जनशक्ति र श्रमिक खोजी गर्ने उद्यमीहरूबिचको संगमस्थल बन्नसक्ने अनुमान छ । मेलामा सहभागी भएर आफ्नो योग्यता, सीप तथा क्षमताअनुसारको रोजगारीका लागि आवेदन दिनसमेत अपिल गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !