पार्टीका युवा–विद्यार्थीलाई ओलीको निर्देशनः प्रतिगामी सोचविरुद्ध आक्रामक रूपमा प्रस्तुत हुनू
काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रुपमा प्रश्तुत हुन पार्टीका युवा–विद्यार्थीहरुलाई निर्देशन दिएका छन् ।
पार्टी निकट राष्ट्रिय युवा संघ, नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भडकाउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरूले आक्रामक रूपमा प्रतिवाद गरेर अघि बढनुपर्ने ओलीको भनाइ थियो ।
उनले प्रतिगामीहरूले गरेका गलत प्रचारको खण्डन हुनेगरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आवद्ध युवा–विद्यार्थीहरूलाई सचेत गराए । अध्यक्ष ओलीले प्रतिगामी तत्वहरु मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दैै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताए ।
उनले जिम्मेवार भएर सामाजिक सञ्जालको प्रयोग गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देश गरे । अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे ।
मुलुकलाई संकटबाट जोगाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुपर्ने भएकाले आफूहरुले मिसन २०८४ को अभियानलाई अघि बढाएको पनि उनले स्मरण गराए ।