८ मंसिर २०८१, शनिबार

परम्परागत थारु हस्तकला प्रवद्र्धन गर्दै राप्ती गाउँपालिका

प्रकाशित मिति :  2 June, 2024 8:00 am


देउखुरी। दाङदेउखुरीस्थित राप्ती गाउँपालिकाले पम्परागत थारु हस्तकला प्रवद्र्धन गर्न थालेको छ ।

थारु समुदायमा बनाइने हस्तकलाका सामग्री पछिल्लो पुस्ताहरूमा हस्तान्तरण नहुँदा हस्तकलाका सिपहरू समुदाय बाटै हराउँदै जान थालेपछि संरक्षणका लागि पालिकाले कार्यक्रम ल्याएको हो ।

पालिकाको आयोजनामा राप्ती गाउँपालिका वडा नम्बर ७ छोट्की सिसहनियाँमा थारु समुदायका महिलाहरूलाई परम्परागत थारु हस्तकला सीप सिकाउने १५ दिने तालिमको सुरुवात गरिएको छ ।

उद्धमशिलता र आर्थिक विकासका लागि विपन्न युवा तथा महिलाका सिप विकास कार्यक्रम अन्तर्गत सीप सिकाई उद्यमशीलता तर्फ अग्रसर गराउनका लागि तालिम आयोजना गरिएको पालिकाले जनाएको छ ।

राप्ती गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम चौधरीले गृहिणी महिलाहरूलाई सीप सिकाई स्वरोजगार बनाउनुका साथै आयआर्जन तथा सामाजिक रूपान्तरण र जीविकोपार्जन गराउने उदेश्यले तालिम सुरु गरिएको बताए।

थारु समुदायले विभिन्न कार्यको लागि परापूर्व कालदेखि प्रयोग गरिदै आएको हस्तकलाका सामाग्रीहरुलाई पुस्ता हस्तान्तरण सँगै महिलाहरूलाई सीप विकास कार्यक्रमअन्तर्गत आफ्नो संस्कार, संस्कृति, परम्पराको सीप सिकेर उद्यमी बन्नका लागि तालिम आवश्यक रहेको गाउँपालिकाकी उद्यम विकास सहजकर्ता अमिता चौधरीकोले बताइन् ।

१४ जना महिलाहरुको सहभागीता रहेको तालिमका सहभागीहरुलाई थारु हस्तकला ढकिया,पुजादानी, हट्केस लगायतका विभिन्न आकृतिका सामाग्री बनाउन सिकाइने छ ।

संस्कृति परम्पारगत कलाको प्रवद्र्धन गर्न थप कार्यक्रमहरु अगाडि बढाइने गाउँपालिकाले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !