८ मंसिर २०८१, शनिबार

यार्सा सङ्कलन गर्न गएका थप एक जनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो

प्रकाशित मिति :  2 June, 2024 10:00 am


मुगु । मुगुमा यार्सागुम्बा सङ्कलन गर्न गएका चारजनाको मृत्यु भएको छ । यार्सागुम्बा सङ्कलनमा गएकामध्ये लेक लागेर पछिल्लो दुई दिनमा ४ जनाको मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदै गर्दा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

देवराज बुढाको मृत्युसँगै यार्सागुम्बा सङ्कलन गर्ने जाँदा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !