गृहमन्त्रीले हुकुमी शासन देखाउनुभयोः सांसद खतिवडा
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले ट्राफिक कारबाहीमा परेकाहरूलाई सडकमा स्वयंसेवा गर्न लगाउने कामलाई रोक्न माग गरेका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद खतिवडाले गृहमन्त्रीले हुकुमी शासनको भरमा ट्राफिक कारबाहीमा परेकालाई सडकमा उतारेर स्वयंसेवा गराएका भन्दै सो काम तुरुन्त रोक्नुपर्ने बताए ।
उनले मुलुकलाई कानूनी शासन अनुसार चलाउनुपर्ने भन्दै कानून बिना त्यसरी मानिसलाई सडकमा ल्याउनु नहुने बताए । उनले गृहमन्त्रीलाई पत्रकार हुँदाजस्तो बोलेर र ट्वीट गरेर मुलुक नचलाउन पनि आग्रह गरे ।
“ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीहरूलाई चार दिन पिरियडको समयमा बिदा दिने कामको सुरूवात गर्नुभएछ । कानुन बनाएर गर्दा असाध्यै राम्रो हो यसलाई हामी स्वागत गर्न चाहान्छौँ । राम्रो कामलाई धन्यवाद पनि दिन चाहन्छौँ । तर मुलुक हुकुमी शासनमा चल्ने होइन । कानून अनुसार चल्नुपर्छ”, उनले भने ।
उनले मिडिया ट्रायल गरेर मुलुक नचलाउन भन्दै यस सम्बन्धमा सभामुखको रुलिङको समेत माग गरे ।