जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँः सांसद सापकोटा
काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरूको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन्।
आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरूका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताएका हुन् ।
उनले यसको सम्बन्धमा संसदको भुमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्युनिकरणको सम्बन्धमा संसदले पनि आफ्नो भुमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए ।
सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आउँदै गरेको वर्षात्का जोखिमहरू र त्यसका पूर्वतयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।