सहकारी ठगहरूलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य छैनः अध्यक्ष केसी
काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सहकारी ठगहरूलाई कारबाही नगरेमा लोकतन्त्र र गणतन्त्रको कुनै औचित्य नभएको बताएका छन् ।
आइतवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै अध्यक्ष केसीले सहकारी ठगहरूलाई जोगाएमा गणतन्त्र र लोकतन्त्रको कुनै औचित्य नभएको बताएका हुन् ।
उनले छानविनका लागि बनाएको संसदीय समितिले पनि दोषिलाई उम्काउने देखिएको भन्दै दुधको दुध पानीको पानी हुनेगरी छानविन गर्नुपर्ने बताए । उनले सहकारी ठगहरुलाई जनताले देख्नेगरी कारबाही गर्नुपर्ने बताए ।
“जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजमर्ने किसिमले रोष्टमबाटै तँ पनि फलानोमा परेको छस् भनेर आफ्नो कर्तुतलाई जोगाउने । त्यहाँबाट उम्काउने र राज्यसत्तामा निर्णायक तहमा बसेका मान्छेहरुले जुनखालको गतिविधि देखियो यसले के बुझिन्छ भने यो समितिले पनि पहिलेका समितिलेझैँ सहकारीबाट ठगिएका जनतालाई माछो माछो भ्यागुतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताले त्यही बुझिराखेका छन्,” उनले भने ।
उनले राज्यसत्ताको निर्णायक तहमा बसेको व्यक्तिले नै संसदको रोष्टमबाट बोलेर अरुलाई दोषि देखाएर आफ्नो कर्तुत जोगाउन लागेको बताए ।