कोकाकोलाका सञ्चालक र व्यवस्थापकहरूविरुद्ध बेपत्ते म्याद तामेली
काठमाडौं । कोकाकोला नेपालको राजस्व छली मुद्दामा सम्पर्कमै नआएका बोटलर्स नेपालका अध्यक्ष शुक्ला वासन , प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित १३ जना पूर्व सञ्चालक तथा र व्यवस्थापकहरूमाथि उच्च अदालत पाटनले बेपत्ते तामेली सूचना गरेको छ । ती १३ जनाले अदालतको म्याद नबुझी फरार अभियुक्त भइ बसेपछि उच्च अदालतले बेपत्ते म्याद तामेली सूचना जारी गरेको हो ।
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडकी अध्यक्ष शुक्ला वासनसहित ९ जना पूर्व र वर्तमानमा सञ्चालक, प्रबन्ध सञ्चालक प्रदीप पाण्डेसहित ८ जना पदाधिकारीलाई प्रमुख प्रतिवादी बनाउँदै गत २०७८ फागुन २७ गते राजस्व चुहावटमा मुद्दा दायर गरेको थियो ।
उच्च अदालत पाटनले दोस्रो पटक जारी गरेको ३० (तीस) दिनको सूचना म्याद जारी अनुसार बोटलर्स नेपाल लिमिटेडका तत्कालीन अध्यक्ष शुक्ला वासन, सञ्चालकहरू मेल्भिन तन छुन पिन , मोहमद घोनिम, गौरव घोसला, संदीप बजोरिया, देबब्रत मुखर्जी, सुमन्त दत्त, जवाहर सोलाइ कप्पुस्वामी छन् ।
यस्तै, संकेत रे, प्रदीप पाण्डे, पुनिन चन्द्रपाल वार्शने र सुमित गोयलमाथि पनि बेपत्ते तामिल सूचना जारी भएको छ ।
को कुन भूमिकामा थिए?
.बोटलर्स नेपालको सञ्चालक समितिको अध्यक्ष शुक्ला वासन सन् २०१४ मा कम्पनीकाे स्वामित्व किनबेच हुँदादेखि नै बोटलर्स नेपालको अध्यक्ष रहँदै आएकी थिइन । त्यसबेला स्वामित्व किनबेचमा मुख्य भूमिका निर्वाह गर्ने सञ्चालक समिति सदस्य संकेत रे हाल कोकाकोलाको लगानी संयन्त्र बोटलिङ इभेस्टमेन्ट ग्रुप साउथ एसियाको तर्फबाट कोकाकोला इन्डिया एन्ड साउथ वेस्ट एसिया (इन्स्वा)का प्रेसिडेन्ट छन् ।
यस्तै, सोही प्रक्रियामा संलग्न तत्कालीन सञ्चालक एसके जवाहर हाल कोकाकोला फिलिपिन्समा वित्त निर्देशक छन् भने उनीपछि नेपालको वित्तीय नियन्त्रकको काममा सुमीत गोयल हाल कोकाकोला गल्फ अपरेसन्समा कार्यरत छन् ।
यसअघिका प्रबन्ध निर्देशक पाण्डे यो कर छली मुद्दा परेसँगै नेपालबाट भागेर नयाँ दिल्लीबाटै दुई वर्षसम्म नेपाल प्रमुखका रुपमा कार्यरत थिए । यस्तै वित्त निर्देशक राजीव टन्डन पनि सो बेलादेखि फरार छन् नेपालमै उपस्थित नभएको व्यक्तिको श्रम स्वीकृति लिइ उनीहरूको तलबभत्ता भारतमै खुवाइ हाल पाण्डेको श्रीलंका सरुवा गरिएको छ ।
पाँच पटक किनबेच
टक्सार आर्थिक म्यागजिनले यो स्वामित्व किनबेच प्रकरणमा ९ अर्ब रुपैयाँभन्दा अधिकको कर छली भएको विस्तृत खुलासा गरेको छ । तत्कालीन अधिराजकुमारी हेलन शाहको नाममा २०२९ सालमा दर्ता भएको बोटलर्स नेपाल प्रालिमा भारतीय लगानीकर्ता नकुल धर्मचन्द कमानीले २०३५ सालमा ५ करोड भारु लगानी गरि २०३६ सालदेखि नेपालमा कोकाकोलाको उत्पादन सुरु गरेका थिए ।
कमानीले सन् १९८३ मा नै आफ्नो स्वामित्व तत्कालीन अधिराजकुमारी हेलन र उनका तर्फबाट व्यावसायिक कारोबार हेर्ने सहदेवशमसेर राणा र विजय धारिवाललाई बेचेर आफू फर्किएको टक्सार म्याजगिनसँगको अन्तर्वार्तामा बताएका छन् । कमानी फर्किएपछि मात्र पाँच पटकसम्म बोटलर्स नेपालको स्वामित्व किनबेच भएको पाइएको छ ।
बोटलर्स नेपाल लिमिटेडमा ७६ प्रतिशत सेयर स्वामित्व रहेको कोकाकोला साब्को एसियाको सतप्रतिशत सेयर सन् २०१४ अक्टोबरमा कोकाकोला साब्कोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो। यो कोकाकोलाको मुख्य प्यारेन्ट कम्पनी -द कोकाकोला कम्पनीको लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुपको अफसोर कम्पनी हो ।
पछिल्लो पटक द कोकाकोला कम्पनीको मुख्य लगानी संयन्त्र बोटलिङ इन्भेस्टमेन्ट ग्रुप बीआईजीमार्फत बोटलर्स नेपालको स्वामित्व किने पनि कागजी रूपमा यूरोपियन रिफ्रसमेन्टलाई स्वामित्वकर्ता देखाइएको छ ।
सन् २००४ मा द कोकाकोलाकै मुख्य स्वामित्वमा रहेको फिजर एन्ड नीभ, सिंगापुरबाट गुत्से परिवारले नेपालसहित तीन मुलुकको स्वामित्व किनेको थियो ।
एक दशकसम्म बोटलर्स नेपालको सञ्चालन, नियन्त्रण र व्यवस्थापन जिम्मा लिएको दक्षिण अफ्रिकाको गुत्से परिवारले सन् २०१४ मा आफ्नो सत प्रतिशत स्वामित्व पुनः बीआईजीलाई बेचेको हो । मूल कम्पनीले स्वामित्व लिएपछि नेपालका कर्मचारीलाई पठाएको इमेलमा बीआईजीले स्वामित्व लिएको उल्लेख छ ।
तत्कालीन राजदरबारका सदस्यहरूको मुख्य सेयर स्वामित्व रहेका बेला लामो समयसम्म दरबारका तर्फबाट स्व. सहदेवशमशेर राणा बोटलर्स नेपालको नेतृत्वमा थिए । सन् १९९९ मा दरबारको अधिकांश शेयर स्वामित्व सिंगापुरको एफएनएनलाई बेचिएयता प्रायः हिन्दुस्तान कोकाकोला नै नै कम्पनीका अध्यक्ष लगायत मुख्य सञ्चालकहरू नियुक्त गर्दै आएको थियो ।
सन् २००८ मा कोकाकोलामा खेतान समूहले विजय धारिवालसहितकाे २२ प्रतिशत शेयर किनेपछि सुरुमा सोही समूहको म्युचुअल ट्रेडिङ र हाल गोरखा ब्रुअरीका तर्फबाट एक जना सञ्चालक नियुक्त हुँदै आएका छन् । यसरी हिन्दुस्ताल कोकाकोला (साबिकको कोकाकोला इन्डिया)को तर्फबाट दशकौंसम्म बोटलर्स नेपालका सञ्चालक तथा व्यवस्थापकहरू नियुक्त हुँदै आएकोमा पछिल्लो स्वामित्व किनबेचपछि बोर्डमा रहेका सञ्चालक र व्यवस्थापकहरूमाथि मुद्दा दायर भएको हो ।
नेपाली सञ्चालक तथा व्यवस्थापकहरू अदालतमा हाजिर भएपछि यसअघि नै स्वतन्त्र सञ्चालक त्रिलोचन उप्रेतीलाई ५० हजार, लेखापरीक्षक सञ्जीव मिश्रलाई ५ लाख, प्रमुख वित्त नियन्त्रक भरत दाहाललाई २ लाख, वित्त नियन्त्रक अशोक मण्डललाई २ लाख रुपैयाँ धरौटी तारिखमा राखिसकिएको छ ।
कोमाथि कति माग दाबी ?
राजस्व अनुसन्धान विभागले बोटलर्स नेपालका पूर्व र वर्तमानमा सञ्चालक, र ८ जना पदाधिकारीलाई प्रत्येकमाथि तीन अर्ब ७१ करोड ८१ लाख र एक अर्ब ८५ करोड ९० लाख रपैयाँका दरले माग दाबी गरि मुद्दा दायर गरेको थियो ।
प्रत्येकमाथि बिगो रु ३ अर्ब ७१ करोड ८१ लाख
१. बोटलर्स नेपाल लिमिटेड कम्पनी
अध्यक्ष तथा सञ्चालकहरू
२. शुक्ला वासन -अध्यक्ष
३. माल्भिन तान चुन पिन सञ्चालक सदस्य
४. मोहमल अमिन गोयनिम- सञ्चालक सदस्य
५. गौरभ खोसला- सञ्चालक सदस्य
६. संदीय बजोरिया- सञ्चालक सदस्य
७ देबब्रत मुखर्जी- सञ्चालक सदस्य
८ सुमन्त दत्ता- सञ्चालक सदस्य
९ जबाहर सोलाई कप्पुस्वामी- सञ्चालक सदस्य
१० संकेत रे सञ्चालक- सदस्य
मुख्य अभियुक्तलाई हुने सजायको आधा रु.१ अर्ब ८५ करोड ९० लाख
११ प्रदीप पाण्डे- प्रबन्ध सञ्चालक
१२ पुनीत चन्द्रपाल वार्शने-प्रबन्ध निर्देशक
१३ राजीव टन्डन- वित्त व्यस्थापक
१४ भरतबाबु दहाल- वित्त व्यस्थापक
१५ सुमीत गोयल- वित्त व्यस्थापक
१६.अशोक कुमार मण्डल-वित्त नियन्त्रक
१७. डा. त्रिलोचन उप्रेती- स्वतन्त्र सञ्चालक
१८. संजीवकुमार मिश्र-चार्टर्ड एकाउन्टेट