चितवनको सौराहालाई हनिमुन सिटी बनाऔँः सांसद गुरुङ
काठमाडाैँ । नेपाली काँग्रेसका सांसद धनराज गुरुङले चितवनको सौराहामा हनिमुन सिटी बनाउन माग गरेका छन् ।
साेमबार प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१\०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै सांसद गुरुङले पर्यटन प्रवद्र्धनका लागि चितवनको सौराहामा हनिमुन सिटी बनाउनुपर्ने बताएका हुन् ।
उनले नवविवाहित जोडीहरू घुम्न जाने शहरको रूपमा हनिमुन सिटी बनाउनुपर्ने उनले बताए । त्यस्तै रारा तालमा १ हजार जोडी अट्ने हनिमुनसिप बनाउनुपर्ने पनि उनको भनाइ छ । उनले रारालाई पनि हनिमुन मनाउन जाने ठाउँको रूपमा विकास गर्नुपर्ने बताए ।
“यसमा एउटा कुरा अझै पुगेन । वेडिङ हब्स पनि भयो । बर्थिङ हब्स पनि भयो । अब एउटा हनिमुन हब्स भएन । हनिमुन सिटी भएन । हनिमुन सिटी पनि कहीँ न कहीँ राखिदिँदा के फरक पर्छ रु चितवनको सौराहामै हनिमुन सिटी बनाइदिउँ । विवाहित जोडीह? त्यहाँ जान्छन् । नव दुलाहा, दुलही त्यहाँ जान्छन् । हात्ति चढ्छन् । घुम्छन् । त्यसैले हनिमुन सिटी । रारा ताल मात्रै हेर्न जानुभन्दा पनि त्यहाँ एउटा हनिमुनसिप बनाइदिउँ । १ हजार जोडी अट्ने सिप बनाइदिउँ । हनिमुन शिपमा गएर हनिमुन मनाउँछन् । के फरक पर्छ रु यसरी पर्यटन प्रवद्र्धन गर्दै जानुपर्छ । अर्को कुरा भन्नैपर्छ । नो नट अगेन भ्यु टावर”, उनले भने ।
उनले गाँजाबाट औषधिजन्य वस्तुको उत्पादन गरेर निर्यात गर्नसके बाट २ खर्ब राजश्व उठ्ने बताए । त्यस्तै घरेलु मदिराको ब्राण्डिङ गरे २ खर्ब रुपैयाँ, जडिबुटी खेतीबाट २ खर्ब रुपैयाँ र गैरकानूनी कारोबार बन्द गरेमा २ खर्ब रुपैयाँ राजस्व उठ्ने बताए ।