१० मंसिर २०८१, सोमबार

मापसे गरेर सरकारी स्कुटर चलाउँदा स्याङ्जाको भीरकोटमा दुर्घटना, चालक घाइते

प्रकाशित मिति :  3 June, 2024 1:39 pm


काठमाडौँ । स्याङ्जाको भीरकोट नगरपालिकाका कर्मचारीले मादक पदार्थको सेवन गरेर स्कुटर चलाउँदा दुर्घटना भएको छ।

गत शनिबार दहथुम प्रहरी चौकी नजिकै भएको दुर्घटनामा भीरकोट नगरपालिकाको स्कुटर ग १ब ११८६ र निजी सवारी लु ६४ प ७४५९ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएका हुन्।

राति ८:३० बजे भएको दुर्घटनामा सरकारी स्कुटर चालक भीरकोट नगरपालिकाको फोहरमैला व्यवस्थापन एवं सरसफाइ केन्द्रमा कार्यरत कृष्ण अर्याल घाइते भएका छन्।

भीरकोट पार्कको व्यवस्थापनको जिम्मा समेत पाएका उनले भीरकोट नगरपालिकाका विशिष्ट व्यक्तिहरूसँग भीरकोट पार्कमा बसेर मादक पदार्थ सेवन गरेर फर्कने क्रममा दुर्घटना भएको स्रोतले बतायो। दुर्घटनामा परेका दुबै सवारी साधन प्रहरी नियन्त्रणमा छन्।

सरकारी स्कुटर चालक अर्यालको सवारी चालक अनुमतिपत्र समेत नभएको प्रहरी स्रोतले बतायो। घटनामा घाइते भएका अर्याल भीरकोट नगर अस्पतालमा उपचार गरेपछि घर फर्किएका छन्। सरकारी सवारी साधन दुर्घटना भएपछि स्थानीय सरकारले सवारी चालक अनुमतिपत्र नै नभएका कर्मचारीलाई सवारी साधन उपलब्ध गराएको खुलेको हो।

दुर्घटनाका विषयमा लुम्बिनी सञ्चारसँग कुरा गर्दै प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले कर्मचारीले मादक पदार्थ सेवन गरेको पुष्टि भएको हुनाले स्वास्थ्य अवस्था ठिक भएपछि कानुन बमोजिम कारबाही हुने बताए।

उनले भने, ” कर्मचारीले त्यसरी मादक पदार्थ सेवन गरेर सवारी चलाउन नहुने हाे । अब उनले गल्ती गरिसके । त्याे हुनाले कानुन बमाेजिम नै कारबाही हुन्छ ।”



प्रतिक्रिया दिनुहोस !