हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाऔँ: प्रमुख सचेतक शाही
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका छन् ।
सोमवार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१’\०८२ को राजश्व र व्ययको वार्षिक अनुमान माथिको सामान्य छलफलका क्रममा बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लाहरूका लागि छुट्टै आर्थिक वर्ष बनाउनुपर्ने बताएका हुन् ।
उनले असारबाट आर्थिक वर्ष सुरु हुँदा असोजमा पैसा पुग्ने र कार्तिकदेखि नै हिउँका कारण काम गर्न नसक्ने अवस्था आउने गरेको बताए । उनले चैत मसान्तसम्म हिउँका कारण काम गर्न नसक्दा बाँकी रहेको दुई महिनामा मात्रै काम हुने गरेको र सबै पैसा फिर्ता हुने गरेको बताए । शाहीले हिमाली जिल्लाहरूको छुट्टै आर्थिक वर्ष बनाएमा मात्रै काम हुनसक्ने बताए ।
उनले सार्वजनिक पद धारण गरेकाहरूले अनिवार्य रूपमा नेपालमा उत्पादन गरेको कपडा लगाउनुपर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले कर्णाली राजमार्गको बजेट सरकारले अपचलन गरेमा आफू संसद् बैठकमा उभिने चेतावनी समेत दिए ।