विपद्मा नागरिकको ज्यान जोगाउन नीति, नियम र कार्यविधिले नरोकोस्ः गृहमन्त्री लामिछाने
काठमाडाैँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले विपद्को समयमा नीतिगत कुराहरुलाई देखाएर काम नरोक्न निर्देशन दिएका छन् ।
सोमवार विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन कार्यकारी समितिको २३ औँ बैठकलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीतिगत कुराहरूमा समस्या देखाउँदै विपद् व्यवस्थापन सम्बन्धी काम नरोक्न सरोकारवाला निकायलई निर्देशन दिएका हुन् ।
उनले नीतिगत समस्या भएमा आफूलाई जेठ महिनाको अन्त्यसम्ममा जानकारी गराउन आग्रह गरे । विपद् व्यवस्थापनको सम्बन्धमा देखापर्ने नीतिगत समस्याहरूलाई छिटोभन्दा छिटो समाधान गर्न आफू तयार रहेको उनको भनाई छ ।
मन्त्री लामिछानेले विपद्को बेलामा नागरिकको ज्यान जोगाउने कुरा महत्वपूर्ण हुने भन्दै नीति, नियम र कार्यविधिहरूले स्रोत, साधनलाई परिचालन गर्न रोक्नु नहुने बताए ।
उनले आपत परेको बेलामा यो वा त्यो प्रक्रियाले दिएन भनेर कुनैपनि काम रोकिनु नहुने भन्दै उनले अझ छिटो गर्न सकिने ठाउँ हेरेर काम गर्नुपर्ने बताए ।