गल्याङ नगरपालिकाकी उपप्रमुखसहित आठजनालाई सफाइ
काठमाडौँ । स्याङजाको गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनालाई विशेष अदालतले सफाई दिएको छ ।
गल्याङ नगरपालिका वडा नम्बर ३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको आरोप लगाउदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको थियो । अदालतमा आरोपपत्र दायर भएसँगै उपप्रमुख न्यौपाने निलम्वनमा परेकी थिइन् ।
अदालतले दिएको पत्रमा भनिएको छ,“ईजलास समक्ष पेश हुँदा तपाईले आरोपित कसुरबाट पाउने ठहरी फैसला भएको राय किताबबाट देखिएको व्यहोरा जानकारी गराउन्छ ।” फैसलाको पूर्ण पाठ तयार नभई सकेकोले जानकारी मात्र गराइएको अदालतले जनाएको छ । उपप्रमुख न्यौपानेका अनुसार अन्य सात जना आरोपितले पनि सफाइ पाएका छन् ।
अख्तियारले न्यौपाने सहित कृषि विकास निर्देशनालय गण्डकीका निमित्त कार्यालय प्रमुख नीलकण्ठ पोखरेल, इन्जिनियर विश्वनाथ पौडेल, अर्थबिज्ञ भानुभक्त भट्टराई, सहकारीका तत्कालीन अध्यक्ष हरिलाल खनाल, सचिव परशुराम खनाल, कोषाध्यक्ष उमा श्रेष्ठ, गल्याङका व्यवसायी महेन्द्र भनिने श्रीमप्रसाद श्रेष्ठविरुद्ध आरोपपत्र दायर गरेको थियो । उनीहरू माथिको आरोप प्रमाणित नभएपछि सबैको निलम्वन पनि स्वतः फूकुवा भएको छ ।